धरानमा कोरोनाको जोखिम !

धरानमा आकस्मिक बैठक, अब ९ बजेदेखि ५ बजेसम्म पसल खोल्न पाइने, प्रदेश १ का सभामुख पनि युवाको सम्पर्कमा, तीनकुनेबाट फैलियो कोरोना


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

धरानः धरानमा समुदायस्तरमा कोरोना फैलिएको हुन सक्ने आशंकापछि आकस्मिक बैठक बसेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल उपस्थितिमा भएको सर्वदलीय, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, सुरक्षा निकायबीचको बैठकले छलफल चलाएको थियो । छलफलपछि कोरोना संक्रमणको जोखिम रोक्न धरानमा बिहान ९ बजेदेखि ५ बजेसम्म मात्र अत्यावश्यक वस्तुको पसल (औषधि, तरकारी र खाद्यान्न बाहेक) मात्र खोल्न दिने निर्णय भएको छ । यस्तै, सार्वजनिक यातायातमा सरकारले तोकेको मापदण्ड अनिवार्य पूरा गर्ने निर्णय भएको छ । ‘सार्वजनिक यातायातमा आधा यात्रु मात्रै चढाएको छ, छैन भनी अनिवार्य चेकजाँच हुन्छ’, प्रजिअ पोखरेलले भने, ‘आधा यात्रु नबोकेको, मास्क, सेनिटाइजर नबोकेको पाइए सार्वजनिक सवारी नै चल्न नदिने निर्णय भएको छ ।’ उनले यसका लागि धरानका विभिन्न नाका प्रभावकारी अनुगमन गरिने भएको छ ।
यस्तै, होटलहरूले ग्राहकलाई होटलमै बसेर खान नदिने, प्याकिङ गरेर मात्र खाना बेच्नुपर्ने निर्णय समेत भएको छ ।
बैठकले कोरोना बिरामी ओसारपसार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने शवबहान व्यवस्थापन गर्न भोलि ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त बैठक बोलाउने निर्णय समेत गरेको छ । भोलिदेखि अनिवार्य यो नियम लागू हुने बैठकले जनाएको छ ।
सभामुख पनि संक्रमित युवाको सम्पर्कमा
धरानमा देखिएका युवाको सम्पर्कमा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी पनि सम्पर्कमा रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतकाअनुसार अहिले धरान–१३ का २८ वर्षीय पुरुषमा कोराना संक्रमण पुष्टि भएको र उनको कन्ट्रयाक ट्रेसिङका आधारमा १३ जनाको पहिचान गरी पिसिआर परीक्षण गर्ने तयारी भइरहेको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन् ।
तीनकुनेबाट फैलिएको आशंका
धरान उपमहानगरपालिका कोरोनाको उच्च जोखिममा परेको छ । धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्वमा कार्यरत एक पुरुषमा कोरोना फैलिएको बताइएको छ । उद्योगमा काम गर्ने धरान–१३ युवा भएको बताइएको छ ।
संक्रमित व्यक्ति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भई उपचाररत रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
फोटोः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप