धरानमा कोरोनाबाट मृत्यु भएका व्यक्ति ‘बिनाकागजात’ एक्कासी प्रतिष्ठानमा !

बारम्बार समस्या पर्दै गएको प्रतिष्ठानका निर्देशकको भनाइ


  • हाम्रो कोशी आवाज
  • बुधबार, साउन १४, २०७७

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार कोरोनाले ज्यान गुमाएका पुरुषलाई चालकले ‘बिनाकागजात’ इमरजेन्सी कक्षमा ल्याएर छोडेर हिँडेको पाइएको छ ।
बुधबार कोरोना संक्रमणका कारण ज्यान गुमाएका मोरङ सुनवर्सी नगरपालिका–८ सिक्टी निवासी उनलाई करिब १२ बजे प्रतिष्ठानमा ल्याएर छोडिएको थियो । उनलाई एउटा सानो कागजमा ‘कोरोना संक्रमित’ व्यक्ति भनेर मात्रै लेखिएको कागजात पाइएको प्रतिष्ठानका चिकित्सकले बताएका छन् । ‘कम्तीमा रेफर गरिएको बिरामीको सबै कागजात भए हामीलाई अझ सजिलो हुन्थ्यो’, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहले भने, ‘तर त्यस्तो नभएपछि हामी एकैछिन अलमलमा परेकै हौं ।’
सार्वजनिक अपिल गर्दै प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहले भनेका छन्, ‘गम्भीर अवस्थामा ल्याइएका यस्ता बिरामीलाई इमजेन्सी वार्डमा ल्याएर छोडिदिँदा बारम्बार समस्या सिर्जना भइरहेको छ, प्रतिष्ठानको साधनस्रोत संक्रमित र अन्य बिरामीको लागि प्रयोग भइरहेको पनि हुनसक्छ, त्यसैले जुन अस्पतालले रेफर गरेको हो, समन्वय गरेर मात्रै रेफर गर्न हुन अनुरोध छ ।’ विराटनगरस्थित कोशी अस्पतालले समन्वय नै नगरी थप उपचारका लागि धरान पठाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।
बुधबार मृत्यु भएका पुरुषमा बिहान कोरोना संक्रमण पुष्टि भएको र उनलाई कोशी अस्पतालबाट गम्भीर अवस्था धरान रेफर गरेको हो । पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले थपे, ‘कोशी अस्पतालले बिना कुनै समन्वय १२ बजे एम्बुलेन्समा पठाएको थियो, स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल भेन्टिलेटरमा राखेर उपचार थालेपनि ४ः४५ मा उनको मृत्यु भयो ।’
समन्वय गरेर रेफर गर्दा भेन्टिलेटर खाली गरेर राख्नेलगायतको तयारी गर्न सहज हुने उनको भनाइ थियो । ‘कोरोना पुष्टि भएपछि उनलाई असहज हुँदै गएछ र श्वास फेर्न गाह्रो भइसकेपछि तत्काल भेन्टिलेटरमा राख्न यहाँ पठाइएको रहेछ, तर हामीलाई जानकारी नै भएन तर पनि हामीले उपचारमा कोसिस गरयौं तर सम्भव भएन ।’
कागजात नहुँदा उनमा के रोग लागेको थियो आदि इत्यादिबारे जान्न नसकिएको उनले खुलाए । ‘हामीसँग उनको एउटा पनि कागज थिएन, उनमा कोरोना हो वा होइन पनि पहिलोपल्ट त थाहै भएन तर बुझ्दै गएपछि पक्का भयो ।’ उनले भने ।
केही दिनदेखि खोकी लाग्न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । गोल्डेनले कोरोना संक्रमणको आशंकामा कोशी अस्पतालमा मंगलबार नै रेफर गरेको थियो । त्यहाँ जाँच्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप