प्रेम दर्शाउने महिना साउन


  • लक्ष्मी खतिवडा
  • बिहिबार, साउन ८, २०७७

असारको अन्तिम सातादेखि नै बजारमा सुरु हुने हरियोको चहलपहल साउनको अन्तिम सातासम्म आइपुग्दा त अत्यन्तै रमाइलो माहोलमा परिणत हुन्छ । सानादेखि ठूलासम्मको रोजाइमा पर्ने हरियोेले बजारको रौनकलाई हरियाली बनाएको देखिन्छ । साउनमा हरियोको खोजीमा पसल पसलमा भौतारिएका भीडको अनुहारमा देखिने उत्साहले वरपरको वातावरणलाई नै हर्षित बनाएजस्तै लाग्छ ।
यतिबेला प्रायःमहिलाको हातमा हरियो चुरा, फुल बुट्टे मेहेन्दी र हरियो पहिरनमात्र देखिन्छ । यो माहोलले हरियो रङमा रुचि नहुनेलाई रुचि बढाएको छ । सबैखाले उमेर समूहका महिला अहिले कस्मेटिक पसल, फेन्सी पसल र बुटिकमा हरियोमा पनि परिमार्जित रङ र फेशनएवल डिजाइनका सौखिन बढी छन् ।
कलेज पढ्ने युवतीदेखि चालिस कटेका महिलाको लागि पनि अहिले हरियो पहिरन सहज बनेको छ । साउनमा हरियो धेरै प्रसङ्ग र जनविश्वाससँग जोडिएकाले पनि लगाउनुपर्छ भन्ने मान्यता एकातर्फ छ भने समयअनुसारको बदलिँदो फेशनशैलीले झनै आकर्षण बढाएको देखिन्छ । अधिकांश कलेजका युवतीले असारदेखि नै हरियो ड्रेसको डिजाइन छनोट गर्ने गर्छन् । अचेल हरियो रङमा अन्य रङहरू मिसिएको कन्ट्रास्ट डिजाइन सबै उमेर समूहका महिलाको पहिलो रोजाइमा पर्ने गरेको छ । साउनमा पर्ने पाँचवटा सोमवारमा शिव मन्दिरमा देखिने भीडमा अचेल पाको उमेरभन्दा युवतीहरू बढी हुन्छन् ।
यो भीडको माहोलमा देखिने हरियो पहिरनसँग भगवान् शिवप्रतिको अगाध विश्वास र आस्था जोडिएकोले माहोल बढेको प्रष्ट देखिन्छ । आस्था र विश्वास समाजको एउटा पक्ष भए पनि कुनै कुराबाट प्राप्त हुने अलौकिक आनन्द र खुशी जीवनको अर्काे पक्ष हो । यो दुवैको समायोजनले सबै उमेर समूहका महिलालाई खुशी बनाएको छ ।
साउनमा शिवालयमा भेटिने हरेक महिला आफूले लगाउने हरियोलाई भगवान् शिवजीको मनपर्ने रङ्सँग जोडेर बुझ्ने गर्छन् । यस्तै, धेरै महिलाको जमघट हुने पशुपतिमा पनि प्रायः साउनभरि नै युवती हरियो पहिरनमै बढी भेटिन्छन् । विवाहिताका लागि मेहेन्दी, हरियो चुरा र पहिरन सौभाग्यको प्रतीक हो भने अविवाहित महिला यसलाई उत्सुकता जगाउने रमाइलो माध्यमको रूपमा बुझ्छन् । कतिपयका लागि भने हरियो फेशनयेवल बन्ने काइदा हुने गर्छ ।

यो महिनामा गरिने हरेक क्रियाकलापमा रमाइलो सौख, उत्सुकता, जिज्ञासा र आस्था जोडिएको छ । यसभित्र पारिवारिक सुख, प्रेम र विश्वासलाई बलियो बनाउने अन्र्तनीहित सोच र भावना पनि जोडिएको छ । जसले जीवनयापनलाई अझै सुखमय र विश्वासिलो बनाउने आधारको सिर्जना गर्ने देखिन्छ । किनभने हरेक मानवीय क्रियाकलाप माया, विश्वास, प्रेम र खुशीमा नै अडिएको छ । साउने हरियो पनि हाम्रो समाजमा यस्तै अनेकौँ बिम्ब र प्रतीकको बीचमै घुमिरहेको छ । जसलाई पछ्याउने महिला जमात पनि यही सेरोफेरोभित्र नै जीवनका रहर र खुशीहरू खोजिरहेका भेटिन्छन् ।
साउन महिनामा बोटबिरुवाले रङ फेरेर पहेलो पालुवालाई हरियो बनाएजस्तै आफूले लगाइरहेको कुनै हरियो सामग्रीबाट मनलाई प्रकृति र मायामा अङ्कुरण गर्न सक्नु ठूलो कुरा हो । यो परिवर्तनले एउटा जीवनचक्रलाई नै सूचारु गरिरहेजस्तै मनले अनुभव गर्ने पविर्तनमा पनि अपार खुशी र रमाइलो पक्ष निहित छ । त्यसैले साउन महिना र यसका हरेक प्रसङ्गलाई मनभित्रको माया, खुशी र आनन्दसँग जोड्न सकिन्छ ।
विज्ञकाअनुसार प्रकृतिमा घुलेको यो हरियो रङले मनलाई तत्कालै फुरुङ बनाउन सक्ने सामथ्र्य राख्छ । साउनमा अहिले देखिएको यो हरियोको मौसम प्रकृतिसँग मनको मेल पनि हो । जसले मनमा प्रेम र खुशीको मात्र सञ्चार गरिरहेको साउनप्रेमीहरूको अनुभव छ । । जीवनमा कोही पनि रङहिन जिन्दगी चाहदैन् । रङहरू जस्तै उल्लासमय र रङ्गिन जिन्दगी सबै चाहन्छन् । कन्या र मिथुन राशि हुनेहरूका लागि साउनमा हरियोको महत्व अझै बेग्लै छ तर साउनमा हरियोको महिमा धेरै कुराले बेग्लै छ ।
रातो, हरियो र नीलो र पहेँलो रङमा धेरैका आशा, अपेक्षा, माया, विश्वास र प्रेमको भाव अडिएको छ । यो सबैलाई मनपर्ने रङ हो । यीमध्ये रातो र हरियोको महत्व साउनमा अपार छ । हरियो शान्तको प्रतीक हो । रङविद् हरियोलाई मनमा सकारात्मक र आनन्दको ऊर्जा सञ्चार गर्ने रङ मान्छन् । यस्तै, रातो माया र विश्वास, सौभाग्यको पहिचान हो । पहेलो रङ पवित्रताको प्रतीक हो । यी रङहरूको मेलले जीवनमा नयाँ खुशी र आनन्दको सचार गर्छ भने यसलाई किन प्रयोग नगर्ने भन्ने महत्वपूर्ण कुरा हो ।
साउन महिनालाई रमाइलो बनाउने धेरै पक्षमध्ये हरियोको प्रसङ्ग रोचक छ । विशेषगरी महिलाका लागि माया र विश्वासको भाव सञ्चार गर्ने महिनाको रूपमा पनि लिइन्छ । साउनको पर्खाइमा बस्नेका लागि यो महिना मनभरि आनन्द र खुशीको सञ्चार गर्ने महिनाको रूपमा पनि रहन्छ । प्रकृतिको हरियालीसँग मनलाई पनि सामेल बनाएर आनन्द र खुशी हुने महिनाको रूपमा महिलाका लागि विशेष महत्व छ । धार्मिक आस्था, विश्वाससँगै फेरी हरियालीको कुराले मनमा प्रकृतिसँगको अन्तरमिलन बोध गराउँछ ।

साउनलाई प्रेमको महिना मानिन्छ । मनमा नयाँ, जोश जाँगर, उत्साह, प्रेम र प्रणय भावलाई सङ्केत गर्ने महिनाको रूपमा पनि लिन्छन् । साउनको महिमालाई बुझेर या जानी नजानी प्रयोग गरिने विशेष महत्वका सामग्रीमा यस्तै माया, विश्वास र प्रेम नै लुकेको छ । साउनमा लगाइने हरियो चुरा, मेहेन्दी, पहेलो, रातो र हरियो पहिरनमा जीवनमा धेरै आशा, अपेक्षा र विश्वास जोडिएको छ । यो सबै अन्ततः माया र प्रेमकैै लागि हुन् । दाम्पत्य सुखको प्रसङ्ग, माया गर्नेको प्रतीकात्मक सम्झना, कल्पना, हुनेवाला मायालुको सम्झनामा जोडिएको साउनको व्रत, मेहेन्दी, चुरा, पोते र हरियोको सबै प्रसङ्ग पनि साउनको महिमासँगै जोडिएकाले यो महिना अझै विशेष छ । यसभित्र लुकेको प्रेम र मनमा अनुभव हुने रमाइलो पक्ष जीवनमा अन्य कुराबाट प्राप्त हुने रमाइलोभन्दा बेग्लै छ । यसमा पनि एक आपसको सद्भाव र विश्वासलाई अझै बलियो बनाउने माध्यमका रूपमा महिला अचेल साउनलाई लिन्छन् ।
जानकारहरूका अनुसार साउन महिना आराध्यदेव शिवजीको महिना भएकाले यसको महत्व अपार बन्दै गएको हो । समयअनुसार मनाउने शैलीमा आएको परिवर्तनले रमाइलो माहोल बनाएको छ । सबैभन्दा ठूलो देवका पनि देव भगवान् खुशी बनाउन साउनमा धेरै कुराहरू गरिनेमध्ये हरियो एक हो । शिवजी खुशी बनाउन साउनमा हरियो पहिरन लगाउने गरेको प्रसङ्गबारे जानकारहरू भन्छन् हरियो नलगाए शिवजी रिसाउने पो हुन की भन्ने डरले पनि अचेल हरियो लगाउनेहरू बढेका हुन् । यो बाहेक साउनमा हरियो रङ प्रकृतिसँगको सामीप्यताले गर्दा पनि मान्छे खुशी भएर लगाउन चाहन्छन् । हरियाली हेर्दा आँखालाई पनि राम्रो, खाँदा स्वास्थ्यलाई पनि राम्रो, लगाउँदा पनि राम्रो, मनलाई आनन्दित बनाउने गुण हुन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप