धरानमा दिनमै ७०० प्लेट मःम बेच्ने केपी राईको कथा

ठमेल मःम ब्राण्ड बन्दै, लुजडाउनमा २०० प्लेट मात्रै बिक्री हुन्छः राई


  • हाम्रो कोशी आवाज
  • मङ्लबार, साउन ६, २०७७

धरानः ठाउँमा स्वाद बिग्रिन्छ, फरक हुन्छ । तर, यो ठाउँमा चाहिँ एकदमै मिठो र उही स्वादमा पाइन्छ ।’ धरान-१६ की प्रिया राईले भनिन्, ‘भोक लाग्यो कि साथीहरू मिलेर ठमेल मःम भन्दै दौडिहाल्छौं ।’ प्राय मःम खान भनेपछि ठमेल मःम नै पुग्ने गरेको उनले बताइन् । ‘अन्य ठाउँमा पनि मःम पाइन्छ नै तर यहाँको स्वाद फरक छ ।’ उनले थपिन् ।
धरानमा अचेल अनेकथरीका मःम चाख्न पाइन्छ । धरानमा मःम अधिकाङ्शले रूचाउने खाजा बन्दै गएको छ । धरानको सडकमा ठेलादेखि विभिन्न होटलमा पनि अहिले मःम पारखी बढ्दै गएका छन् । सर्वसाधारणदेखि भिआइपीसम्म यसका पारखी हुन् । स्वादिलो र भोक मेट्ने भएकाले मःम खाजाका रूपमा धेरैका लागि पहिलो रोजाइमा पर्ने गरेको छ । नेपालीले पैसा, स्वाद र सन्तुष्टिका हिसाबले पनि अन्य खाजाभन्दा मःमलाई नै प्राथमिकता दिने गरेका छन् ।
धरानमा अहिले चिकेन, बफ, भेजिटेबल, मसरुम स्टिम, फ्राइड, झोल, झानेको, पोलेको, साँधेको आदि मःम पाइन्छ नै । तर धरानको एउटा खाजा पसलमा पाइने मःमको विशेष पहिचान र उसकै दबदबा पनि । धरान–१२ स्थित केपी राईले सञ्चालन गरेको ठमेल मःम हाउस अहिले धरानको रोजाइको गन्तव्य हो ।
बफ, भेजी, पर्क र चिकेन मःम साथै चाउमिन, पिज्जा, बर्गर, छोइला, लस्सी, आइसक्रिम पनि एकै ठाउँमा पाइने भएपछि मात्रै ग्राहक पुग्दैनन्, फरक स्वाद र पहिचानका कारण पनि मःम खानेको दिनहुँ घुइँचो लाग्छ । केपीले मःम हाउस सञ्चालन गरेको वर्षौं भयो । ‘विदेश जानुभन्दा स्वदेशमै केही गरौं भनेर धरानमै लागिपरिरहें’, उनले भने, ‘त्यही भएर यहीँ टिकिरहेको छु ।’ उनले विदेशमा कमाएको पैसाले आत्मसम्मान पनि नपाउने र देशको विकास पनि नहुने ठानी विदेश नगएको सन्देश दिन्छन् । ‘अहिले धरानमै जमेको छु’, उनले भने, ‘ग्राहकलाई मिठो बोलीबचन, होम डेलिभरीलगायतका सेवा दिन थालेपछि यहीँ टिकें ।’
आफ्नै मिहिनेत, पसिनाले आफ्नो ठाउँमा व्यवसाय उक्सिएको देख्दा उनलाई गर्व लागेको बताउँछन् । ‘घरपरिवार पनि खुशी छन् । परिवारवाट पनि राम्रो साथ सहयोग मिलेको छ, जागिर पाइँदैन भनेर विदेश भाग्ने होइन, आफै उद्यमी बन्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु ।’ उनले भने । अहिले उनको पसलमा दिनहुँ भीड लाग्छ । ‘विशेषतः सोमबार र शनिबार अझ बढी भीड हुन्छ’, उनले भने । मःम हाउसमा अहिले २० जना भन्दा बढी कामदारलाई रोजगारी पनि दिएका छन् । ‘फाइदा–घाटाको कुरा नै नगर्नुस्’, उनले भने, ‘२० जना भन्दा बढीलाई रोजगारी सिर्जना गर्नु चानचुने कुरा होइन, यसैमा झन् गर्व लागेर आउँछ ।’ उनले दिनमा ७ सय प्लेट भन्दा बढी मःम बेच्छन् । २० जनालाई तलब दिएर बचेको आफू राख्छन् । ‘नाफा त व्यवसायमा हुन्छ नै, अहिले ७ सय प्लेट बढी बिक्छ, खर्च पनि छ, सबैलाई दिएर आफूले मासिक लगभग ६० हजार राख्छु ।’
विशेषतः हट स्वादिलो र स्वथ्यकर मःम खान पाएपछि ग्राहकहरूको भीड बढेको उनी बताउँछन् । ‘मःम बनाउनेहरू बनाउँदै गरेका हुन्छन्, पाकेपछि खानेहरू खाइरहेका हुन्छन्, त्यही भएर पनि ग्राहक बढिरहेका छन् ।’ उनले भने । मसलाबिनाको स्वस्थ्यकर स्वादिलो विभिन्न प्रकारका मःमहरू पाइने भएकोले मःम पारखीहरूको रोजाइमा पर्न थालेको उनी बताउँछन् । ‘शुद्ध र स्वस्थ मःमको लागि मःम बनाउन चाहिने कच्चा पदार्थदेखि लिएर कर्मचारी र किचनको सरसफाइ इत्यादिमा कुनैपनि सम्झौता गरेका छैनौं ।’ उनले थपे, ‘यस्तो भएपछि ग्राहक स्वतः बढ्छन् ।’
‘लुजडाउन भएपछि थोरै बेच्छु’
लकडाउनमा सबैको व्यापार व्यवसाय डामाडोल भयो । लुजडाउन अथात् लकडाउन केही खुकुलो भएपछि खोलिएको पसल पनि लयमा फर्किन सकेकोे छैन । यसअघि ७०० प्लेट बेच्ने राई अहिले २०० प्लेट मःम मात्रै बेच्छन् । ‘अहिले २०० प्लेट मात्रै बिक्री हुन्छ, धेरैले होम प्याक अर्डर गर्नुहुन्छ’, उनी भन्छन्, ‘अहिले समय नै त्यस्तै छ, जे भएको छ ठीकै भएको छ, सामाजिक दुरीको कुरा पनि आउँछ नि ।’ होम प्याकका लागि पठाउने र पसलमा उनले अहिले एउटा कुर्सीमा दुई जना मात्रै बस्न मिल्ने बनाएका छन् । दुई जनाको लागि तीन मिटरको दुररी कायम गरेर सञ्चालनमा ल्याइएको उनले बताए । ‘अहिले स्टाफलाई खर्च, सामग्री किन्न नै ठीक्क भइरहेकोे छ,’ उनले भने ‘तरपनि समय परिस्थिति हो, सन्तुष्ट नै छु ।’ उनले प्रत्येक कर्मचारीलाई मास्क, सेनिटाइजर साथै आउने ग्राहकलाई पनि अनिवार्य मास्क लगाउन अनुरोेध गर्दै आएको बताए ।
फोटोहरु लकडाउनअघि नै खिचिएका हुन् ।
फोटोः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप