आजको विषयः फनफनी हात घुमाउने बालकको कथा

गरिबीको पराकाष्ठा

बालकको हात फनफनी घुम्छ, न राज्यले सुन्छ, न स्थानीयले, प्रश्न छ– आखिर के गरिबचाहिँ मर्नैपर्ने ?’


  • हाम्रो कोशी आवाज
  • बिहिबार, असार २५, २०७७

धरानः संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ४ होक्सेमा एउटा झुरूम्म परेको वस्ती छ । त्यो वस्तीमा बसोबास छ– राज्यले समेत अल्पसंख्यक, सीमान्तकृत नभनेको, नठानेको जोगी समुदायको । त्यही वस्तीभित्र सम्पत्तिको नाममा सानो टिनले छाएको झुप्रो घर छ कर्णबहादुर जोगीको । उनको दुई छोरामध्ये एक छोरा मिलन जोगीको हात अहिले पनि भाँचिएको अवस्थामै छ ।
२८ घर परिवारको बसोबास रहेको सो स्थानमा गरिबी, चेतना र शिक्षाको पहुँच नहुनुले पनि यो समुदाय अझै पछाडि नै छ । नजिकै स्कुल नहुनु, करिब एक घण्टाको बाटोमा स्कुल हुनु, प्रायः स्कुल पनि नपुग्ने कारणले यहाँका समुदायका मानिसहरू खासै पढेलेखेका छैनन् । त्यही चेतना अभाव, अशिक्षा, गरिबीका कारण यी बालकको अहिलेसम्म उपचार हुन सकिरहेको छैन ।
तीन वर्षको उमेरमा हात भाँचिएको कर्णबहादुरको छोराको हालसम्म पनि हात जस्ताको त्यस्तै रहेको छ । भाँचिएको हात बिग्रिएर अहिले फनफनी घुम्ने अवस्थामा पुगेको छ ।
भाँचिएको हप्तादिनमा परिवारले थाहा पाएपछि उनलाई जिल्ला अस्पताल खाँदबारी लगियो पनि तर खर्च अभावले राम्ररी उपचार नै हुन पाएन । ‘खाँदबारी अस्पताल लग्यौं तर यहाँ उपचार सम्भव छैन तल (धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान) लैजानु भनेपनि चेतना अभाव र खर्च अभावले लैजान पाएनौं’, बाबु कर्णबहादुर सोझोपारामै भन्छन् ।
बनिबुतो गरेर चल्ने उनको परिवार अहिलेसम्म पनि बनिबुतो गरेरै चलिरहेको छ । ‘अर्काको घरमा जोत्ने, खन्ने लगायत अन्य जे काम भेटिन्छ, त्यही काम गर्दै परिवार धान्दै आएको छु’, उनले थपे, ‘यस्तो मान्छेले कसरी उपचार गर्न लैजानू ।’
विचल्लीमा परेका यी बालकको अवस्था बुझ्न कोही आइपुगे भन्ने प्रश्नमा स्थानीय टेकबहादुर बस्नेत भन्छन्, ‘उनको अवस्था बुझ्न न कुनै राजनैतिक दलका नेता, कार्यकर्ता कोही आइपुगेनन्, किन आउन यस्तो बेलामा, चुनावको बेलामा पो राति तीन चार बजेतिरै आउँथे र दाल चामल र पैसाको समेत प्रलोभन देखाउँथे ।’ पढेलेखेका स्थानीय पदमबहादुर जोगी भन्छन्, ‘न हाम्रो हैसियत छ, हैसियत हुने राज्यले त सुनेन सुनेन भएका स्थानीय र स्थानीय तहले पनि हेरेनन् ।’
बाबु कर्णबहादुरले छोराको उपचार गरिदिन देशविदेशमा रहेका नेपालीहरूमा आग्रह गरेका छन् । ‘डाक्टरले हुन्छ भन्नुभएको छ तर खर्च अभावले अहिलेसम्म पहुँच पुग्ने अस्पतालसम्म लैजान सकिरहेको छैन, त्यसैले अस्पतालसम्म लैजानेसम्मको वातावरण बनाइदिन हुन अनुरोध गर्दछु ।’
गाउँगाउँमा स्थानीय सरकार सञ्चालन भएपनि उनीहरूको नजर यसतर्फ पुग्न सकिरहेको छैन । ‘वास्तविक गरिबको उपचारमा राज्यले सहयोग गर्नुपर्छ’, स्थानीय शिक्षक राजमणि घिमिरेले भने, ‘उपचार नपाएर गरिब मृत्युको मुखमा पुग्नु हुँदैन, गाउँगाउँका गरिब जो उपचार नपाएर थलिएका छन्, उनीहरूको उपचारमा स्थानीय सरकारको पहलकदमी गर्नुपर्छ, अनि मात्रै राज्य छ है भन्ने अनुभूति जनताले गर्न पाउनेछन् ।’
उनी गरिब तथा विपन्नले राज्यबाट पाउने सेवासुविधाबाट बन्चित रहँदै आएको बताउँछन् । ‘पैसा हुनेले राज्यबाट थप आर्थिक सहायता लिएर सेवा पाइरहेका छन् भने गरिब तथा विपन्न नागरिक उपचार सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित हुँदा अत्यन्तै दुःख लागेर आउँछ, यस्तो हुँदापनि आखिर के गरिबचाहिँ मर्नैपर्ने ?’
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप