अन्ततः नयाँ पुस्ताले कसलाई मान्छन् गुरु ?


  • देवीराम आचार्य
  • आइतवार, असार २१, २०७७

आज गुरु पूर्णिमाको सन्दर्भमा म पनि मेरो विद्यालयदेखि विश्वविद्यालय सम्मका सबै गुरुलाई सम्झन पुगे । हाम्रो परम्परागत मान्यताले शिक्षा दीक्षा दिने विद्यालयका गुरुहरुलाई नै गुरु मानेको अवस्था छ, यद्यपि जन्मदेखि आजसम्म जसले जे जति ज्ञान, सीप र आचरणका कुरा सिकाए ती सबै गुरु मान्ने सन्दर्भ पनि छ । यस अर्थमा एउटा मानिसका धेरै गुरु हुन सक्छन् । तर सन्दर्भलाई अलि विशिष्टिकृत गरेर हेर्ने हो भने जीवन यापनको दैनिकीमा अलि महत्व राख्ने र लामो समयसम्म त्यसको प्रभाव पर्ने सन्दर्भमा औपचारिक शिक्षा दिने शिक्षकहरुलाई गुरु कोटीमा राख्ने गरिएको छ । परम्परागत रूपमा हेर्दा ज्ञानका स्रोत शिक्षक मात्र भएको अवस्थामा शिक्षकप्रतिकोश्रदाभाव अलिक बढि रहेको थियो तर समयक्रमलेशिक्षकप्रति शिष्यको श्रद्धाभाव कम हुँदै गएको वर्तमान सन्दर्भमा सबै शिक्षक गुरु हुन नसकेको प्रसंग पनि पाइन्छ ।
एउटा जो सुकै व्यक्ति अर्को कुनै व्यक्तिको गुरु बन्न सक्छ तर त्यसका लागि उसले निर्वाह गर्ने भूमिकाको निकै महत्वपूर्ण स्थान रहेको हुन्छ । हालको समयमा आएर औपचारिक ज्ञान हस्तान्तरण गरेकै भरमा मात्र कुनै पनि व्यक्तिले साँच्चिकै गुरु बन्ने अवसर नपाउने अवस्था देखिन्छ । विद्यालय होस वा विश्वविद्यालयमा पाठ्यक्रमले निर्धारण गरेको पाठ्यवस्तुमा आधारित ज्ञान हस्तान्तरण गैरेकै भरमा श्रद्धेय शिक्षकहरू गुरु बन्न नसकिरहेको अवस्था अहिले देखिएको छ । म कहिलेकाहीँ आफैलाई प्रश्न गर्छु, १८ वर्षको औपचारिक शिक्षा हासिल गर्दा सम्म मलाई ज्ञान हस्तान्तरण गर्नु भएका मेरो श्रद्धेय गुरुमध्ये मेरो मनैदेखि गुरु भाव र गुरु भक्ति दर्शाउनु पर्ने, आज गुरु पूर्णिमाको दिन सम्झनै पर्ने गुरु को को हुन ? मेरो मानसपटलमा अनेक गुरुहरू आउनुहुन्छ, ती सबै गुरुहरूसँग साक्षात्कार गर्छु र मलाई निकै कठिनता महशुष हुन्छ हृदयदेखि नै गुरु भाव देखाउने गुरुको छनौट गर्न ।
औपचारिक शिक्षा दिने ८०, ९० वा त्यो भन्दा धेरैको संख्यामा रहेका गुरुहरूमध्ये उत्कृष्ट गुरु छनौट गर्न मलाई कठिन हुन्छ । किन ? यो मेरै समस्या होला कि, गुरुप्रति आदरभाव दर्शाउन नसकेको ? अथवा गुरुहरुकै समस्या होला आफुलाई गुरुको दर्जामा दर्ज गराउन नसक्नु भएको । यसो भन्दै गर्दा मेरा श्रद्धेय गुरुहरुप्रति श्रद्धा भाव कम हुन जान्छ भने क्षमा प्रार्थी छु ।
एउटा असल गुरुले आफ्नो शिष्यलाई सहजै माफी दिनुहुन्छ भन्ने अनुमति सहित म किन मेरा लागि २, ३ जना गुरु छनौट गर्न सक्दिन भन्ने प्रसङ्गतिर जान चाहन्छु । आन्तरिक मूल्याङ्कनमा भन्दा बाह्य मूल्याङ्कनमा धेरै अङ्क प्राप्त गरेका अनुभवले गुरुप्रतिको आदरभावमा कमी आएको छ । परीक्षामा उत्तीर्ण हुने सबै विद्यार्थीमध्ये उत्कृष्ट अङ्क आउँदा आन्तरिक मूल्याङ्कनमा सबैभन्दा कम अङ्क ल्याएको अवस्थामा गुरुले गरेको ज्ञानको हस्तान्तरणले गुरुभाव देखाउन नसकिने रहेछ । कक्षामा गृहकार्य परीक्षण गरेर सुधारको सल्लाह नदिइ मिलेन भनेर गोलो आलु मात्र दिने अथवा ठूलो गुणन चिह्न दिने गुरुहरूप्रति श्रद्धा जाग्दो रहेनछ ।
कक्षामा जान्ने, अगाडिको बेञ्चमा बस्नेहरूलाई मात्र ध्यान दिएर कमजोरलाई थप सहयोग नदिने, गृहकार्य गरेन भनेर दण्डित गर्ने तर गृहकार्य गुरुलाई नटेरेर नगरेको हो, नजानेर नगरेको हो अथवा पाठ्यपुस्तक नभएर, कापी पेन्सिल नभएर नगरेको हो भनेर नखोज्ने गुरुप्रति पनि श्रद्धा जाग्न अझ कठिन हुने रहेछ । विभिन्न त्रैमासिक परीक्षामा थोरै नम्बर प्राप्त गर्दा कक्षामा नतिजा सुनाएर थोरै अङ्क ल्याउने सबैलाई हकार्ने गुरुप्रति श्रद्धा जाग्न कठिन नै हुन्छ । के के कारणले थोरै अङ्क आयो, खास खास समस्या कहाँ थियो, कमजोरी के भयो, पढाइ नै नपुगेको हो, प्रश्न नबुझेको हो, उत्तर दिन मात्र नजानेको हो खोजी गरेर सुधारको सुझाव पाएको भए गुरु मान्न कठिन हुँदैनथ्यो होला तर अङ्क मात्र भनेर कक्षामै पढ्नु केही छैन, गुच्चा खेल्न हिँड्छस् भन्दै कान बटार्ने गुरुप्रतिगुरुभक्ति देखाउन कठिन रहेछ ।
कक्षामा गुरुले पढाइरहेका बेला चित्र कोर्दै गर्दा पढाएको ध्यान नदिने भनेर कान निमोठिदिदा कतिको चित्रकार बन्ने सम्भावना समाप्त भएका छन् । राम्रो गीत, कविता मुक्तक लेख्दै गर्दा लगाएको झापडले कलिला साहित्यकारको सम्भावना मरेको छ, जतिखेर व्यक्तिले यो थाहा पाउनेछ त्यो दिन गुरुभक्ति समस्यामा पर्छ ।
आज बिहान मात्र एकजना मित्रले सुनाएको प्रसङ्ग जोडौ, वहाँले कक्षा ८ मा पढ्दा एकदिन अग्रेजी गुरुले प्रश्न सोध्नु भएछ, अनि जानी नजानी उत्तर दिँदा गल्ती भएछ । गुरुले गल्ती भएको बहानामावहाँलाई सात कक्षा सम्म अग्रेजी पढाएका गुरुको नाम लिदै, उसले पढाएको अग्रेजी यही हो भनेर गालामा बेस्सरी पिट्नु भएछ, त्यसदिन देखि वहाँले वर्षभरी अङ्ग्रेजीको कक्षामा कहिले पनि बस्नु भएन रे । यसले गुरु भक्तिमा प्रश्न उठाएको छ । गुरुलाई लाग्छ होला मैले पढाएको विद्यार्थी हो, आज यो नबोली हिँड्छ तर शिष्यले त्यो घटना बिर्सेको छैन अनि त उसलाई गुरुप्रति श्रद्धा जाग्दैन । औपचारिक नमस्कार गर्छ र हालखबर सोध्दैन ।
स्नातक तहको एउटा प्रसङ्ग जोड्छु, म जागिरे भएकाले नियमित क्याम्पस उपस्थित हुन सक्ने अवस्था थिएन । दोस्रो वर्षको सैद्धान्तिक परीक्षा सकिएपछि प्रयोगात्मक बाह्य परीक्षाको लागि २० दिन कुर्नुपर्ने भयो । २० दिनमा बाह्य परीक्षाको तयारी पनि गर्ने र कार्यालयमा पनि जाने सोचले आदरणीय गुरुलाई भेट्न गए । आफ्नो समस्या दर्साउँदै कुन कुन पक्षमा विशेष ध्यान दिएर तयारी गर्नुपर्ला भनेर सोधेको थिए । आदरणीय शिक्षकले पर्यटक विद्यार्थीलाई पास गराउन सकिदैन, अर्को वर्ष ब्याक दिन आउनु भन्ने जवाफ पाएपछि साँच्चिकै म उक्त बाह्य परीक्षामा सहभागी भइन र ३ वर्ष स्नातक तहको लब्धाङ्क पत्रमा एउटा तारा लगाउन सफल भए । तर म जस्तै अन्य धेरै पर्यटक साथीहरू भने सोही वर्ष उक्त बाह्य परीक्षा उत्तीर्ण गर्नुभयो तर ३ वर्षे स्नातक पुरा गर्न भने ५ वर्ष पनि लाग्यो । गुरुका यस्ता व्यवहारले पनि गुरु भक्ति नआउने रहेछ ।
मेरो एकजना साथिले सुनाए अनुसार, वहाँले अत्यन्त श्रद्धा गरेका गुरुले एकदिन ३ बजे भेट्ने समय दिनुभएको रहेछ । मोटरसाइकलमा जाँदै गर्दा बाटोमा ठूलो पानी परेछ, एकैछिन त ओत लाग्नु भएछ तर पानी कम हुने सम्भावना पनि देखिएनछ र गुरुले दिएको समय पनि ढिला हुने ठानेर निथुक्र भिजेर कलेज पुग्दा सवा तीन भएको रहेछ । तर गुरुले ढिला आएको भनेर भेट गर्नु भएनछ । त्यही दिनबाट उक्त गुरुप्रतिको ठूलो श्रद्धा सकिएको र त्यो घटना कहिले नबिर्सने घटना बनेको छ भन्नुहुन्छ ।
सूचना र प्रविधिमा भएको तिब्रतम् विकासले ज्ञान कसले कसलाई सिकाउने भन्ने नै रहेन । हामी आफैले भोगीरहेका छौँ घरमा हजुरबा र हजुरआमाले टी भी को रिमोट चलाउन, मोबाइल फोन चलाउन नाति नातिनासँग सिक्दै हुनुहुन्छ । बाबु आमाले फेसबुक र कम्प्युटर चलाउन छोरा छोरीसँग सिकिरहनु भएको छ । चार वर्ष पहिले ब्लग बनाउने सीप मैले भाइसँग सिके । युनिकोडमा टाइप गर्न सहकर्मीसँग सिके, अङ्ग्रेजीका सानातीना कुराका लागि श्रीमतीको सहयोग लिन्छु । यस अर्थमा परम्परागत ज्ञान हस्तान्तरणको प्रचलनमा ठूलो परिवर्तन आइ सकेको छ । कक्षामा पढाइरहेका शिक्षकको फोनमा घण्टी बज्यो भने, विद्यार्थीले सर दिनुस् म कष्भिलत बनाइदिन्छु भन्छ । भोलि शिक्षकले पढाउने उजयतयकथलतजभकष्क, भअयकथकतझ को पाठका लागि आजै उसले युटुबमा थुर्पै भिडियो हेरि सकेको हुन्छ । पाठ्यपुस्तकमा भएको २०५८ को जनगणनाको तथ्याङ्क पढाएर विद्यार्थीले मान्दैन उसले अनलाइनमा हरेक दिनको जनसङ्ख्या हेरिरहेको छ । हरेक वर्षका जनसङ्ख्या दिवसका दिनको तथ्याङ्क हेरि सकेको छ ।
अबको दिनमा कोही पनि कसेको साँच्चिकै गुरु बन्न कठिन भएको छ । कसैको जिन्दगीमा ठूलो एल टर्न नै ल्याइदिने गरी, सकारात्मकतातर्फ बाटो मोडिदिने गरी, विशिष्ट सहयोग नगर्दासम्म परम्परागत ज्ञान हस्तान्तरणले मात्र अबको पुस्ता शिक्षकलाई गुरु मान्न तयार नभएको हो कि भन्ने अनुभूत गर्दैछु मैले । गुरु पूर्णिमाको यो अवसरमा औपचारिक अनौपचारिक ज्ञान सीप दिने सबै श्रद्धेय गुरुप्रति कृतज्ञ छु ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप