धरानमा कोरोना भागोस् भन्दै महारुद्री !

शास्त्रमै महामारी निवारण हुन्छ भन्ने भएकाले गरियोः आयोजक


  • हाम्रो कोशी आवाज
  • शुक्रबार, असार १९, २०७७

धरानः विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को भागोस् भन्ने कामनाका साथ धरानमा महारूद्री र पूजापाठ गरिएको छ ।
चैत १३ गतेदेखि सात दिनसम्म लगाइएको रुद्रीको शुक्रबार समापन भएको हो । धरानका मेयर तिलक राई प्रमुख अतिथि रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायतको पनि उपस्थिति थियो । २२ जना ब्रह्मणद्वारा रुद्रीपाठ, पूजापाठ साथै शिव र शक्तिको कठोर आराधना गरेका थिए ।
धरानस्थित गीता भवनमा आयोजना गरिएको कार्यक्रममा विजयपुर आध्यात्मिक मञ्च, विश्व हिन्दु महासङ्घ सुनसरी, सनातन धर्म सेवा समिति सुनसरी, ब्राह्मण समाज धरानले कार्यक्रम आयोजना गरेका हुन् । सात दिनको साइत जुराएरै यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । गाईको दूधमा खिर पकाएर जडिबुटी, तिल, जौं, बेलपत्तालगायत मिलाएर शास्त्रकै विधिअनुसार हवन, कीर्तन गरिएको महासचिव अधिकारीले जानकारी दिए । नियम पुरयाएर गर्दा कुनैपनि महामारी निवारण हुन्छ भन्ने शास्त्रमै भएकाले पनि यस्तो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
कोरोना भाइरसको सङ्कटबाट विश्वलाई मुक्ति दिलाउनका लागि साथै शान्तिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष पित्तरुमल अग्रवालले जानकारी दिए । महायज्ञमा भक्तजनहरूको पनि उपस्थिति थियो । भक्तजनलाई सुन्नका लागि माइकबाट प्रशारणको व्यवस्था मिलाइएको थियो भने प्रसाद पनि वितरण गरिएको थियो ।
सारा विश्वमा सङ्कटको रूपमा पैदा भएको कोरोना भाइरसबाट मुक्ति दिई शान्ति पैदा गर्न र विश्वमा मुत्युवरण गरेकाको सम्झनाका साथै कोरोना भगाउने उद्देश्यले नै यस्तो कार्यक्रम आयोजना गरिएको मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले जानकारी दिए ।
विश्व हिन्दू परिषद्का आनन्द आचार्यले परापूर्वकालमा ऋषि महर्षिले महामारीको समयमा विभिन्न यस्ता कार्यक्रमको आयोजना गरी विश्वशान्तिको कामना गर्ने पाइएको भन्दै आचार्यले परम्परालाई निरन्तरता दिँदै यस्तो कार्यक्रम आयोजना गरिएको बताए । महायज्ञमा कोरोना सङ्कट मुक्तिका लागि दीप प्रज्वलन, दीप पूजा, लक्ष्मी पूजा, गणेश पूजा, भागवत पाठ पारायण, आरती भजन र भागवतको कथा लगायतका कार्यक्रम दैनिक रुपमा गरिएको थियो । फोटोः हाम्रो कोशी आवाज डटकम

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप