सार्वजनिक यातायातको दुर्दशा

धरानमा बसको यो हालत: टायर पड्कियो (१३ फोटो र अन्तर्वार्ता)

बस वरिपरी घाँस उम्रियो, इन्जिनमा खिया लाग्यो, निजी सवारीले चर्को शुल्कमा यात्रु ओसार्न हुने, हामीले नहुने ?


  • हाम्रो कोशी आवाज
  • शुक्रबार, असार १९, २०७७

धरानः आजसम्म यातायात नचलेको १०२ दिन पुगेको छ । १०२ दिनसम्ममा धरानमा यातायातको हालत त ‘पतला’ छ नै व्यवसायी र मजदुरको पनि हालत उस्तै बन्दै गएको छ ।
धरानमै हेर्ने हो भने सार्वजनिक बसका टायर पड्किन थालेका छन् भने, राखिएका सार्वजनिक बस वरिपरी घाँस उम्रिएको अवस्था छ । यति मात्रै नभएर कतिपय सवारी साधनको इन्जिनमा खिया समेत लागेको अवस्था छ । यदि यातायात नै चलेपनि एक लाख भन्दा बढी त मर्मत नै गर्न खर्च लाग्ने अवस्था रहेको व्यवसायी बताउँछन् ।
पूर्वाञ्चल यातायात व्यवसायी संघ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठ यातायात व्यवसायी, मजदुर सबै पीडामा बसेको बताउँछन । यातायात व्यवसायीहरूले लकडाउनको यतिको दिन पुग्दासमेत ‘सार्वजनिक यातायात’ क्षेत्रका समस्याबारे सरकार मौन रहेको उनको भनाइ छ । ‘यातायात पनि नियम बनाउँदै चलाउन सकिन्छ तर राज्य यस विषयमा मौन रहँदा व्यवसायी, मजदुरमाथि पीडा थोपरिँदो छ ।’
नेपालमा केही सातादेखि लकडाउन खुकुलो पारिएको भए पनि यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन नसक्दा व्यवसायीहरू आन्दोलनमा जानुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेपनि सम्बोधन हुन नसकेको बताए । ‘सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनःविचार र पुनःकर्जाको व्यवस्था गर्नपर्ने हो तर त्यो भइरहेको छैन’, उनले भने । उनले चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरे ।

उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ समितिले यातायात व्यवस्था निर्देशनालय १ नम्बर प्रदेशलाई लकडाउन अवधिभरको कागजात, कर, राजस्व, जरिवानालगायतका विषयलाई सम्बोधन गर्न माग गर्दै ८ बुँदे सुझाव पत्र पेश गरेको बताए ।
निजीले चर्को शुल्क लिन्छन्
भाडाका सवारी–साधन चल्न नपाएपनि निजी सवारी–साधनमा चर्को शुल्क तिरेर ल्याउने र लैजाने गरिरहेपनि सरकार मौन रहेको उनको भनाइ छ । ‘सामाजिक दुरीकै कुरा गर्ने हो भने उनीहरूले सामाजिक दुरी ‘मेन्टेन’ गरेका छन् त, चर्को शुल्कमा उनीहरूले यात्रु ओसारिरहेका छन् त ?’ उनले थपे ।
छैन स्पष्ट खाका
उता यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सार्वजनिक सवारीसाधन सञ्चालनका लागि सरकारले स्पष्ट खाका तयार पार्न नसक्दा समस्या परेको बताउँछन् ।
लामो समयसम्म यातायात क्षेत्र सञ्चालन नहुँदा अन्य क्षेत्रमा पनि प्रतिकूल असर पर्ने व्यवसायीहरूको भनाइ छ । उनको अनुसार लामो समयदेखि त्यत्तिकै थन्किएका सवारीसाधन सडकमा निकाल्न मात्रै सवारीको प्रकारअनुसार १०,००० देखि चार लाख रुपैयाँसम्म लाग्ने अवस्था छ । उनले लकडाउनका कारण ३ लाख यात्रुबाहक सवारी, ६० हजार मालबाहक गाडी तथा ४० लाख मजदुरहरूमा परेको समस्याप्रति राज्य संवेदनशील नभएको गुनासो गरे ।
‘सवारीसाधनहरूमा घाँस पलाएको अवस्था छ । सवारीसाधन नचल्दा इन्जिन नै बिग्रिने खतरा छ । बसमा ब्याट्री मात्रै फेर्न ४०–५० हजार खर्च हुने अवस्था छ । टायरहरू पनि बिग्रेका छन्,’ उनले भने, ‘त्यसकारण सरकारले सडकसम्म गाडी पुरयाउने अवस्था सिर्जना गरिदिनुपर्छ । हामीले त्यसका लागि पुनर्कर्जाको सुविधा दिन अनुरोध गरेका छौं ।’



मलाई प्रेसर छ तर यातायात चलाउन सकिन्छ
सरोज श्रेष्ठ
अध्यक्ष
पूर्वाञ्चल यातायात व्यवसायी संघ प्रदेश १
लकडाउनको अवस्था छ, तपाईहरू कुन अवस्थामा हुनुहुन्छ ?
–असार १ गतेदेखि धेरै सरकारले लकडाउन खुकुलो भएको छ । लकडाउन आजसम्म १०२ दिन बितिसकेको अवस्था छ । अरु सबै व्यापार, व्यवसाय खुल्ला हुँदा सार्वजनिक यातायात पनि खुल्ला हुनुपर्छ भन्ने हाम्रो माग हो । यसको पनि नियम बनाएर लाँदा हुन्छ भन्ने लाग्छ । अर्कोकुरा पीडाचाहिँ मजदुरमाथि नै छ । डेढ दुई महिना भइसक्यो राहत पाएका छैनन् । यसको मतलव राज्य मजदुरप्रति संवेदनशील छैन भन्ने हो । निम्न वर्गका मजदुरका विषयमा सम्बोधन हुनु जरुरी छ ।
यस्तै, ९० प्रतिशत व्यवसायीले ऋण लिएर व्यापार, व्यवसाय गरेको अवस्था छ । सबैभन्दा बढी पीडाचाहिँ बैंक, वित्तीय संस्थामा तिर्नुपर्ने ऋणको छ । बजेटमा पनि समेटिएन । मौद्रिक नीतिमा यो विषयको सम्बोधन हुन्छ भन्ने आशा छ ।
यस्तो अवस्थामा कसरी चलाउन सकिन्छ त यातायात ?
–हामी प्रदेशका जिम्मेवार व्यक्तिहरूसँग बस्यौं । देशभरीको यातायात सञ्चालन कार्यविधि बनाइएको छ । त्यो हुबहु लागू गर्ने हो भने सम्भव छैन । किनभने सामाजिक दुरी, सेनिटराइजको कुरा आएका छन्, त्यो सबै व्यवसायीले नै व्यहोर्ने भन्ने कुरा छ । तर प्रदेश सुहाउँदो पनि बनाउन सकिन्छ । ‘पार्टबाइ’ सञ्चालन गर्न सकिन्छ । जस्तैः मेची पहाडी, कोशी पहाडी आदि । अर्थात् जोखिम कम भएका जिल्लामा क्रमशः यातायात चलाउन सकिन्छ । त्यसैले प्रदेश १ सुहाउँदो कार्यविधि बनाएर अघि बढौं । मास्क, सेनिटराइजर अनिवार्य साथै सामाजिक दुरी अपनाउँदै चलाउन सकिन्छ । अहिले मलाई प्रेसर आइसकेको छ, यातायात ‘चलाऔं, चलाऔं’ भनेर । यसमा राज्यले सहकार्य गर्नु आवश्यक छ ।
मजदुरको अवस्थाचाहिँ कस्तो पाउनुभएको छ ?
–बसमा धान, जमरा उम्रिसकेको अवस्था छ, टायर मक्किएर, खिइएर कामै नलाग्नेसम्म भएका छन् भने इन्जिन बिग्रिन थालेको छ । अब यातायात चलाउँदा उनीहरूले मर्मत गर्दा करिब एक लाख रकम लाग्ने अवस्था छ । फोटोमा हेरौं यातायातको अवस्थाः



प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप