अरू जातिको भन्दा भिन्न संस्कार-संस्कृति


  • निनाम कुलुङ ‘मंगले’

हालसम्म नेपाल सरकारको मातहतमा रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) मा ५९ जातिलाई सूचीकृत गरिएको छ । तर, नेपालमा ५९ जाति मात्रै आदिवासी जनजातिहरु रहेका छैनन् । किनभने, हाल आएर नेपालका ८० वटा भन्दा बढी आदिवासी जनजातिहरूले आफूहरूलाई पनि सरकारले आदिवासी जनजातिमा सूचीकृत गर्नु पर्छ भनेर आवाज उठाउँदै आएको छ । यस्तो आवाज सर्वप्रथम राईकरणको मारमा परेको कुलुङ जातिले वि.सं २०५७–०५८ देखि उठाउँदै आएको हो ।
विसं २०६२–०६३ देखि अरू जातिहरू पनि आन्दोलनमा थपिएर बृहद् आन्दोलन भएपछि तत्कालीन सरकारले मानवशास्त्री तथा प्राध्यापक डाक्टर ओम गुरुङको संयोजकत्वमा ‘उच्चस्तरीय आदिवासी जनजाति अध्ययन तथा सूची परिमार्जन कार्यदल’ गठन गरेको थियो । सो कार्यदलले ५९ मा दुई जातलाई खारेज गरेर (फ्री र छैरोतन भन्ने जाति नभेटिएकोले) र एक जातिलाई अर्कोमा गाभेर (वन करिया र चेपाङ एकै भएकोले वन करियालाई चेपाङमा गाभेर) र २५ वटा नयाँ जातिलाई थपेर जम्मा ८१ जातिलाई सुचीकृत गर्न ओम गुरुङको कार्यदलले सरकारलाई सिफिरिस गरेको पनि ११–१२ वर्ष हुन लागेको छ ।
हुन पनि सूचीमा नपरेका जातिहरुले ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आज उराप्र) २०५८ को दफा दुई (क) ले तोकेरअनुसार सरकारसँग सूचीकृत गर्न माग गरेका हुन् । प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा ‘आदिवासी मा ‘आदिवासी जनजाति हुनका लागि तोकिएको आधारहरु जस्तै ‘आदिवासी–जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रितिरिवाज, छुट्टै सांकृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।’ भनिएको छ ।
यसरी हेर्दा कुलुङ जाति पनि आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ भनेर वि.सं २०५७–०५८ देखि नै संघर्ष गर्दै आएको हो । किनभने ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा आदिवासी जनजाति हुनका लागि तोकिएको जुन आधारहरू ‘आदिवासी–जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांकृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झ्नुपर्छ ।’ भनिएको छ भनी माथि नै उल्लेख गरिएको छ । त्यसबाहेक पनि कुलुङ जातिको ऐतिहासिक भूमि महाकुलुङ छ, अरू जातिको भन्दा छुट्टै भेषभुषा छ, वंश–पुर्खाहरू कहाँबाट आएको हो ? सो को इतिहास छ । धर्म, संस्कार, संस्कृति र रहनसहन अरू जतिको भन्दा फरक छ । तापनि हालसम्म कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन ।

यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो, को हो ? भन्नेबारेमा बास्तविक कुरा बाहिर नआएकाले पनि हो । किनभने हालसम्म कुलुङलगायत अन्य किराती जातिहरूलाई राई जाति भन्ने वा राई जातिमा गाभ्ने गरिएको थियो, छ । त्यसमा पनि खम्बुका सन्तानहरूलाई राईकरण गरिएको छ । आजभोलि भने, धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरूले दिएको पगरी–पदवी मात्रै हो भन्ने बारेमा सर्वसाधारण मान्छेहरूमाझ पनि प्रष्ट हँुदै गएको छ ।
जे होस्, कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरूको ऐतिहासिक थलो भूमि छ–छैन ? कुलुङहरू अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो–होइन ? कुलुङको जनसंख्या कति छ ? कुलुङ मातृभाषी कति छन् ? आदि–इत्यादिबारे छोटकरीमा जान्ने प्रयास गरौं ।
नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जाति मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरू हुन्छन् । त्यसरी नै कुलुङ भनेको पनि बाहुन भने जस्तै जात हो भने कुलुङको पनि बाहुनभित्र विभिन्न थरहरू छन्, त्यसरी नै कुलुङभित्र पनि थर–उपथरहरू छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरू, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु लगायत २ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर–उपथरहरू रहेको छ ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरू (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरू आफ्नो मातृभाषामा ‘मा कुलु’ भन्छन् । त्यस्तै, कतिपय विदेशी लेखक तथा अन्वेषकहरू र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङको बाक्लो बसोबास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँहरूमा छ भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिरहा, कास्की, खोटाङ, काठमाण्डौं, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २३–२४ जिल्लामा रहेको छ ।

२०६८ को जनगणनाअनुसार कुलुङहरूको जनसंख्या केवल २८ हजार ६ सय ३१ भएतापनि कुलुङको वास्तविक जनसंख्या कम्तीमा एक लाख ६० हजारभन्दा माथि हुन सक्ने, नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कुलु गुसखोम), केन्द्रीय कार्यसमितिका महासचिव इन्द्र कुलुङ बताउंँछन् । वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरूको तथ्यांङ्क २०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ भने २०५८ को जनगणनामा त राईकरणको मारमा परेका कुनैपनि किरातीभित्रका जातिहरूको अलग्गै जातीय तथ्यांक नै आएको थिएन । केही किराती जातिहरूको भाषागत तथ्यांक मात्रै आएको थियो । जस्तो ५०५८ को जनगणनामा तेह्रथुम जिल्लामा एकजना पनि कलुुङ देखिएन । तापनि तेह्रथुम जिल्लामा कुलुङको जनसंख्या लगभग १५ सयको हाराहारीमा देखिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै अलग्गै मातृभाषा छ । जसलाई उनीहरू ‘कुलु रीङ’ भन्छन् ।
जहाँका कुलुङ भएपनि कुलपितृ आदिमा कुलुङ जातिका मोप, नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै, २०५८–०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । त्यस अन्सार कुलुङ भाषामा २१ वटा व्यन्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिबद्ध गरिदा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरू जातिको भन्दा भिन्न प्रकारको संस्कार–संस्कृतिहरू रहेको छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पुर्खाले मुख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्युसंस्कार गर्दा मृतक (मृतआत्मा) को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरूको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै बागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ । सामान्यतयाः कुलुङहरू २ पटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप