रसिलो ड्रागन खेतीमा रमाउँदै धराने महिला

जसले एकै महिनामा कमाइन् एक लाख


  • हाम्रो कोशी आवाज

धरानः धरानकी शिव वान्तवा राई रसिलो ड्रागन खेतीमा रमाएको धेरै वर्ष भएको छैन तर पनि महिनामै एक लाख कमाएपछि झनै हौसिएकी छिन् । उनलाई ड्रागनको खेतीले छोटै समयमा सफल कृषकका रूपमा पनि स्थापित गरेको छ ।
‘मेरो आमा क्यान्सर रोगबाटै बित्नुभएको थियो, यो फल खाएर क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा पाएपछि यसको खेती गरेकी हुँ’, उनले भनिन् । उनले दुई वर्षको अवधिमा फल बेचेरै कमाएको बताइन् । गत साल ७५ हजार रूपैयाँको फल बिक्री गरेर आम्दानी गरेको बताउने उनले विरुवा नै दुई लाख रूपैयाँको हाराहारीमा बेचेकी थिइन् ।
यो खेती जिल्लामै पहिलोपटक भित्रिएको हो । माघदेखि यता तीन लाखको हाराहारीमा विरुवा बिक्री गरेको बताउने उनले भनिन्, ‘यसअघि महिनादिनको अवधिमै एक लाख कमाउन सफल भएको थिएँ ।’
५० वटासम्म विरुवा दिनमा बिक्री भइरहेको उनी बताउँछिन् । ‘अहिले फल लाग्न थालिसकेको छ, साथसाथै विरुवा बिक्री गरेरै पनि कमाउने गरेकी छु ।’ उनले भनिन् । रातो र सेतो ड्रागनको खेती गरिरहेको उनले बताइन् ।
धरानमा ‘एक घर दुई विरुवा’ अभियान आफू लागेको बताइन् । ‘एक घर दुई विरुवा रोपिदिए हुन्थ्यो, राम्रो हुन्छ ।’ उनी भन्छिन् । लगनशील, मिहिनेती भइयो भने फलले राम्रो आम्दानी दिने उनी बताउँछिन् । २ कट्ठामा यतिको आम्दानी दिन्छ भन्ने नसोचेकी उनले सो ठाउँमा योसँगै तीन किसिमको खेती गरेकी छिन् । सावर सुप, एभोकाडा, नुनीलगायतको पनि खेती गरेको उनी बताउँछिन् ।
अब झन् फल लाग्ने समय बढ्दै गएकाले वार्षिक आम्दानी बढ्ने उनले बताइन् । ‘केही वर्षपछि लगाएको बोटबाट वार्षिक लाखौं आम्दानी लिने लक्ष्य छ, अब समय र मौसमले कतिको साथ दिन्छ, हेरौं ।’ उनले भनिन् । गर्मी ठाउँमा खेती हुने ड्रागन फ्रुट अरू फलभन्दा भिन्न गर्मी र जाडो समय दुवैमा खान मिल्ने फल हो । झन्डै १३ थरिको पोषणतत्व पाइने यो फल जसले खाँदा पनि हुने उनी बताउँछिन् । कोलेस्ट्रोल र क्यान्सरका लागि धेरै फाइदाजनक फल रहेको यो फल एउटाको ३०० देखि ५०० रुपैयाँसम्म पर्ने उनको भनाइ छ ।
‘धेरै मेहनत गरेर खेतीमा लागेको कारण अब मेरो यसैमा लगानी हुनेछ’, उनले भनिन्, ‘मेरो मेहनत र उत्पादन देखेर धेरै प्रभावित हुनुभएको छ, संखुवासभाको तुम्लिङटारसम्म विरुवाको अर्डर हुन थालेको छ, यसैमा सन्तुष्ट छु ।’
घरको छत तथा करेसाबारीमै रोप्न सकिन्छ, कसरी गर्ने ड्रागन खेती ? ड्रागन फलको फाइदाबारे जानौं
ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महङ्गो मूल्यलाई बिर्साइदिन्छ ।
ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।
घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज(कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
ड्रागन फलको फाइदा
–छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुरयाउँछ ।
–यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।
–कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।
–क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।
–यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।
–मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पु¥याउँछ ।
व्यावसायिक ड्रागन फल खेतीको लागि पोल निर्माण रेखांकन र बिरुवा रोप्ने तरिकाः
ड्रागन फलको बिरुवा १.५ मिटर अगलो हुने भएकोले अडयाउनका लागि तेही अनुसारको पोल बनाउनु पर्दछ ।
पोल बनाउदा साइज २ मिटर र बिचमा २ – ३ वटा रड राखी अलि बलियो किसिमको बनाउनुपर्छ ।
रेखांकनः
राम्ररी खनजोत गरिसकेपछि ।
लाइनदेखि लाइनको दुरी २ . ५ मिटर र बोट देखि बोटको दुरी २ मिटर हुने गरि रेखांकन गर्नु पर्दछ ।
यसरी विरुवा लगाउँदा १ हेक्टरम २००० पोल र प्रति पोल ३ वटा बिरुवा लगाउदा ६००० बिरुवा र ४ वटा लगाउन ८००० बिरुवा लागदछ ।
विरुवा रोपनः
पोललाई जमिनमा ३०–४० से.मी. गाडेर दरो किसिमले अडयाउनु पर्छ ।
प्रत्येक पोलको वरिपरि ३० से.मी. को फरक पारी ३–४ वटा विरुवा रोप्नुपर्छ ।
विरुवा रोप्दा जति भाग पोली ब्यागमा विरुवा गडेको छ, त्यसै अनुसार गाडनुपर्छ र विरुवालाई केही पोलतर्फ ढल्काएर रोप्नुपर्छ ।
विरुवा सारीसकेपछी हल्का सिचाइ गरी छापो हालदिनुपर्छ ।
–एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप