‘अनलाइन कक्षा मात्रै होइन सिर्जनशील काम गराऔं’


  • प्रा.डा. निदेश सापकोटा

बालबालिकामा कोरोनाको त्रास छँदैछ नि ?
कोरोना भाइरसको सङ्क्रमणका कारण विद्यालयहरू बन्द भएपछि बालबालिकामा पर्ने वास्तविक असरबारे धेरै छलफल भएका छन् । तर, निचोड निस्किन सकेको छैन । उनीहरूको व्यवहारिक, भावनात्मक र सामाजिक विकासमा यसले नकारात्मक असर पुरयाउँछ । अझ ठूलो चिन्ताको विषय के हो भने, लामो समय विद्यालयहरू बन्द रहँदा बालबालिकाले आफूले पहिल्यैदेखि जानी राखेको कुरा पनि बिर्सन थाल्नेछन् । यसको परिपूरण निकै कठिन हुनेछ । बन्दाबन्दीको परिणामले अहिलेका बालबालिका वयस्क हुँदा उनीहरूको वौद्धिक स्तरमा गम्भीर प्रभाव पार्न सक्छ ।
बालबालिकामा कोरोनाको त्रास हटाउन के गर्न सकिन्छ ?
बालबालिका भनेका गिलो माटोजस्तै हुन् । हामीले जस्तो बनाइदियो त्यस्तै बन्ने हुन् । त्यसैले यसमा अभिभावक सचेत बन्नुपर्छ । बालबालिकामा कोरोनाका कारण सबै बर्वाद हुन्छ, सबै सकियो खत्तमै भयो भन्ने सोच पर्न नदिन अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । भनौं, अभिभावक त्रसित भए बालबालिका पनि त्रसित हुन्छन् । विश्वभरकै समस्या हो, आत्तिनु, पात्तिनु हुँदैन भनेर भनिरहनुपर्छ ।
अहिलेसम्म बीपी प्रतिष्ठानमा बालबालिकामा मनोवैज्ञानिक असर परेको छ भनेर अभिभावकहरू आउनुभएको छ कि ?
–हालसम्म कोही आएको छैन । तर पनि बन्दाबन्दीले विद्यालय बन्द भई घरभित्रको बास हुँदा बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकाले यसतर्फ सचेत रहनै पर्छ ।
यदि त्रास फैलिए बालबालिकाको शिक्षामा कस्तो असर गर्ला ?
–भय, त्रासको वातावरणले बालबालिका र शिक्षामै पनि दीर्घकालीन असर गर्छ नै । यसो भन्दैमा सबै आत्तिनु भएन । अभिभावक, शिक्षक लागे मात्रै पनि हुन्छ, त्यसका लागि राज्य दरिलो भएर लाग्नुपर्ने हुन्छ । बालबालिकालाई त्रसित नबनाइ, यो रोग भनेको सहज हो भन्दै, सहज वातावरण बनाउँदै इन्टरटेन्टमेन्ट दिनुपर्छ, नत्र भविष्यमा बाल मनोविज्ञानमा त्रास दह्रो भएर बस्छ र उनीहरूको मानसिक, शारीरिक, बौद्धिक क्रियाकलापमा असर गर्दै शिक्षा, स्वास्थ्य, मनोसामाजिक असर पनि पर्न सक्छ ।
मैले माथि पनि भनिसकें यसको लागि अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, मनोचिकित्सक र राजनीतिज्ञ सबैको ठोस प्रयासबाट मात्रै हामी कोभिड–१९ ले बालबालिका र शिक्षामा परेको असरबारे बुझ्दै अभिभावक र शिक्षकलाई नै विशेष तालिमको व्यवस्था गर्नुपर्छ । बालबालिकाको विद्यालय कहिले खुल्छ, ठेगान छैन, उनीहरूको मनमा विद्यालय नखुलेका कारण अनेक किसिमका भावना खेलिरहेका हुन्छन् र त्यसले मनोविज्ञानमा असर पर्न सक्ने भएकाले उनीहरूलाई बढीभन्दा बढी सिर्जनशील काममा सक्रिय बनाउन अभिभावकले ध्यान दिनुपर्छ ।
घरमै पनि अनलाइन कक्षा लिने, अनलाइन कक्षा नलिए विभिन्न काम जस्तैः घरमा बाबुआमालाई सघाउने, तरकारी पकाउने, खेतबारीमा सघाउने गराउन सकिन्छ । यस्तै, भान्सामा पाइने वस्तुका नाम भन्न लगाएर पठन सीपका क्रियाकलाय सिकाउन सकिन्छ भने ती वस्तुहरूबाट नै गणितीय सीप सिकाउन सकिन्छ । जस्तै २ वटा गिलास र २ वटा कचौरा जोड्दा कति हुन्छ ? ४ वटा गिलासमा २ वटा हराए भने कतिवटा गिलास बाँकी रहन्छन् ? यस्ता प्रश्न गर्दै बालबालिकामा भाषिक तथा गणितीय सीप सिकाउन सकिन्छ ।
थप यसो पनि गरौं
–सम्बन्ध विस्तार गरौं र बालबालिकासँगै पढौं
–कला र सिर्जनात्मक क्रियाकलापमा सहभागी गराऔं र सिकाऔं
–घरायसी कामबाट सिकाऔं
–घरको सरसफाइमा संलग्न गराऔं र सिकाऔं
–अभिनयका माध्यमबाट सिकाऔं
–समाचार हेरौं, सुनौं र छलफल गरौं
–शारीरिक क्रियाकलापमा सहभागी गराऔं
सापकोटा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मानसिक रोग विभागमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप