युवा लक्षित कृषि उद्यमशीलता कार्यक्रम ल्याऔं


  • कोशी अवाज

कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को बढ्दो संक्रमणका कारण विगत पाँच महिना देखि पुरै विश्व आक्रान्त छ । यसको संक्रमणले विश्वभर महामारीको रुप लिएको र लाखौंको ज्यान गइसकेको छ ।
नेपाल कृषि प्रधान देश हो भनिन्छ तर खाद्यान्नमा दिन प्रतिदिन परनिर्भरता बढदो छ । तर विडम्बना त के पनि छ भने उत्पादन गरिए पनि किसानहरुले बजार नपाएका घटनाहरु पनि दिनहुँ दोहोरिइरहेका छन् । किसानहरुले बारीमा उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य उपभोग्य सामानहरुले बजार नपाउदा बारीमा नै कुहिएका समाचारहरु दिनदिनै आइरहेका छन् । त्यस्तै किसानहरुले उत्पादन लागत पनि नउठ्ने मूल्य र समयमै बजार पु¥याउन नसक्दा बारीमा नै कुहिने अवस्था त रहेको छ । यसका साथै कतिपय किसानहरुले डोजर लगाएको र मल बनाउने गरेका छन् । जबकि अर्को तर्फ उपभोक्ताहरुले यिनै वस्तुहरु सुपथ मूल्य र सहज रुपमा पाइरहेका छैनन् । यस्तो परिस्थितिमा सरकारको ध्यान जानु नितान्त आवश्यक देखिन्छ नै तर ध्यानसँगै किसानले बजार कसरी पाउन सक्छन्, त्यसको प्रबन्ध पनि गर्नु पर्नेछ ।
कतिपयका लागि कृषिबाट भाग्न चाहँदा चाहँदै पनि पनि नसकिने पेशा बन्न पुगेको छ । कतिपयका लागि कृषिकर्ममा चाहना र लगाव हुँदाहुँदै पनि निर्वाहमुखी खेतीले जीविका धान्न असहज भएपछि कामको सिलसिलामा विदेशिनु परेको छ । कतिपय मानिसहरु विदेशबाट नेपाल फर्किएपछि व्यवस्थित कृषिमा लागेका उदाहरणहरु पनि छन् । कोरोनाका कारण अहिले पनि कतिपय विदेशिएका युवाहरु गाउँ फर्केका छन् कतिपय फकर्ने तरखरमा छन् । त्यस्तै रोजगारी खोसिएका र फर्किएका युवाहरुलाई कृषि क्षेत्रमा नै काम गर्ने वातावरण बनाउन सक्दा, एक हदसम्म वैकल्पिक र भरपर्दो रोजगारी सिर्जना गर्न सकिने छ । वैकल्पिक रोजगारीका उपाय अवलम्बन नगरिँदा राज्यका सामु कहालीलाग्दो अवस्था उत्पन्न हुन सक्छ ।
कतिपय विदेशबाट युवा फर्किरहेका छन् । यसरी लामो समयपछि गाउँ फर्केका यी युवा यतिखेर भने आफ्ना खेताबारीमा रमाउँदैछन् ।
अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पुगेका उनीहरु अहिले गाउँ पुगेर आफ्ना बाँझिएका जमिन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । उनीहरुले अहिले मौलिक कृषि प्रणालीबाटै खेती सुरु गरिरहेका छन् ।
खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँमा वर्षौंदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकै रोपेर लहलाउँदो भएका छन् । कृषि कर्ममा लागेका अधिकांश युवाले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलरलगायतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्ने गरेको देखिन्छ । रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषिकार्यमा मानिस लागेको देखिन्छ । यसरी कृषि कर्ममा लागेका युवाले अवसरलाई चिन्नसकेमा अहिले भइरहेको हाम्रो खाद्यान्नको परनिर्भरतालाई न्यूनीकरण गर्न सकिन्छ ।
नेपाल सरकारको तथ्यांकले चालू आर्थिक वर्षको आठ महिनामै २० अर्ब भन्दामाथिको खाद्यान्न आयात गरेको देखाउँछ । गत १० वर्षको तथ्यांकलाई हेर्दा यो पाँचगुणाले बढेको छ । हरेक वर्ष खाद्यवस्तुको आयात बढ्दो छ । आयातलाई कम गर्न र कृषिमा आत्मनिर्भर बन्न लाखौँको संख्यामा विदेशिएको युवा जनशक्तिलाई कृषिमा लगाउन आवश्यक भएको कृषि विज्ञको भनाइ छ ।
हाम्रा कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय र स्थानीय ज्ञान र प्रविधिबीच कार्यगत एकता हुनु आवश्यक छ । सरकारले खेतीयोग्य जमीनलाई बस्ती विस्तारका लागि खण्डीकरणमा रोक लगाउनुपर्छ र कोभिड–१९ का कारण विदेश जान नपाएका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न गराउनेभन्दा कृषिसँग जोड्न आवश्यक छ । किसानलाई आफू किसान भएकामा गर्व गर्नसक्ने सामाजिक वातावरण सरकारले बनाउन सक्नुपर्ने र यसो गर्नसके विश्व महामारीका रुपमा रहेको कोभिड–१९ का कारण खाद्य आपूर्तिमा आउनसक्ने संकट देशका लागि नयाँ अवसर हुन सक्नेछ । अहिले युवा अर्धसीपमूलक र सीपविनाको काममा छन् । विनासीप विदेशमा काममा रहेकाको कमाइ पनि त्यति राम्रो छैन । त्यसैले यतिखेर घरैमा आएका र अब आउने सम्भावनासमेत रहेका युवालाई लक्षित गरेर सरकारले कृषि उद्यमशीलताको विकासका कार्यक्रम ल्याउनु उचित हुनेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप