किशोरकिशोरी समस्यामा


  • हाम्रो कोशी आवाज

धरानः यौनप्रतिको बढ्दो जिज्ञासाका कारण सानै उमेरमा शारीरिक सम्पर्क राख्ने प्रवृत्ति बढेको छ । गर्भ रोक्नका लागि विभिन्न खालका साधनको पहुँच पनि बढ्दैछ । तर तिनको प्रयोग गर्न नजान्दा किशोरकिशोरी समस्यामा पर्ने गरेका छन् । नेपालमा माग अनुसार गर्भनिरोधका साधनको परिपूर्ति हुन सकेको छैन ।
नेपाल परिवार नियोजन संघको तथ्यांक अनुसार परिवार नियोजनका साधनको कूल माग ७७ दशमलव २ प्रतिशत छ । परिपूर्ति केवल ४९ दशमलव ७ प्रतिशत छ । परिवार नियोजनका साधनमा पहुँच नभएर प्रयोग गर्न नपाउनु एउटा समस्या छ, तर जहाँ पहुँच छ त्यहाँ भने केहीलाई प्रयोग गर्ने तरिकाबारे जानकारी नै छैन भने जानकारी भएकाहरुले पनि बेवास्ता गर्ने गरेको पाइएको छ । गर्भ रोक्न प्रयोग हुने ईमर्जेन्सी पिल्स, कण्डम लगायतका साधन विहे नगरेका र स्कूल कलेज पढ्दै गरेका किशोर किशोरीले बढी माग गर्छन् । गर्भ रोक्न यस्ता साधन प्रयोग गर्नुपर्छ भन्ने जानकारी त छ, तर कसरी प्रयोग गर्नुपर्छ, यसका फाइदा, बेफाइदा के छन् भन्ने विषयमा भने जानकारी नभएको पाइएको परिवार नियोजन संघका सिनियर स्टाफ नर्स सिप्रा जोशीको भनाइ छ ।
मेडिकलबाट गर्भनिरोधका साधन किनेर चुपचाप बाटो लागेका किशोरकिशोरीको जोडी केहीबेरपछि फर्किएर प्रयोग गर्ने तरिकाबारे सोधेको आफूले देखेको सुनाउँदै उनले भने, ‘उनीहरु त अन्यौल भएपछि कम्तिमा पनि मेडिकल सञ्चालकलाई सोध्न आए, तर कैयौँ यस्ता किशोरकिशोरी छन, जो जान्ने बुझने छु भन्ने सोच्छन् तर उनीहरुले सोचेजस्तो भईदिँदैन र फेल खान्छन् ।’ कलेजमा पढ्दै गरेका एक किशोर भन्छन्, ‘सावधानी अपनाउनुपर्छ भन्ने त थाहा छ, तर आफनै केटी साथीसँग पनि गर्भनिरोधका साधनबारे कसरी कुरा गर्ने भन्ने
अप्ठ्यारो हुन्छ ।’
उनको जस्तो अप्ठ्यारो प्राय सबैले भोगेका हुन्छन् । जसको परिणामस्वरुप युवती वा महिलाले पटक पटक ईमर्जेन्सी पिल्स प्रयोग गनुपर्ने वा अनिच्छित गर्भ रहेपछि गर्भपतन गराउन बाध्य हुन्छन् । यसको एउटै कारण हो, गर्भनिरोधका साधनबारे खुलेर कुरा हुन नसक्नु । परिवार नियोजन संघका सिनियर स्टाफ नर्स जोशी भन्छन्, ‘विद्यालय शिक्षामा यसबारे केही जानकारी पाउँदैनन, त्यसैले पढेलेखेका छन् भन्दैमा ढुक्क हुन सकिंदैन ।’
गर्भपतन सेवा दिँदै आएको एक स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकका अनुसार यौन शिक्षा किशोरकिशोरीले सबैभन्दा धेरै आफ्नै आमाबाबुबाट लिन सक्छन् । तर हाम्रो समाज यौनका बारेमा अभिभावकसँग सोध्न सक्ने गरी खुला नभइसकेकाले छोराले बाबुसँग र छोरीले आमासँग घुमाउरो पारामा, केही लामो समय लिएर बुझन, ज्ञान लिन सक्ने उनको तर्क छ ।
गर्भनिरोधका साधन र यसको प्रयोगबारे पर्याप्त जानकारी नहुँदा अविवाहित किशोर किशोरीहरुलाई समस्या हुने गरेपनि विवाहित भने धेरै जान्ने हुँदा अप्ठ्यारोमा पर्ने गरेको परिवार नियोजन संघका सिनियर स्टाफ नर्स जोशीको टिप्पणी छ ।
परिवार नियोजनका साधन प्रयोगको झण्झट, त्यसबाट आउनसक्ने समस्यालाई भयंकर रुपमा लिने तर पटक पटक गर्भपतन गर्न भने अग्रसर हुने गरेका छन् । जाबो गर्भ फाल्ने त हो के हुन्छ र भन्नेहरु धेरै भेटिने भएकाले महिलाको स्वास्थ्यमा समस्या बढ्दो छ ।
साधन प्रयोगमा महिला अगाडि
परिवार नियोजनाका अस्थायी र स्थायी साधनमा पुरुष भन्दा महिलाहरु नै अगाडी छन् । पुरुषका लागि साधन कम भएकाले पनि त्यसो भएको हो । महिलाका लागि सुई, नरप्लान्ट, कपर टी, पिल्स जस्ता साधन भएपनि पुरुषका लागि अस्थायी साधनका रुपमा कण्डम नै प्रयोगमा छ । तर स्थायी परिवार नियोजन गर्ने पुरुषहरुले पनि फर्काउन आउने गरेको परिवार नियोजन संघका स्वास्थ्यकर्मीको अनुभव छ । त्यसरी फर्काएको सबै सफल हुन्छ भन्ने हुँदैन । संघका सिनियर स्टाफ नर्स सिप्रा जोशी भन्छन्, ‘यो जुवा जस्तै हो, जिते मालामाल हारे कंगाल ।’ पछिल्लो समयमा शिक्षितहरुमा प्राकृतिक परिवार नियोजनको तरिका बढी प्रयोग भएको पाइएको छ । चिकित्सकहरुका अनुसार यो सुरक्षित छ । अलि ध्यान पु¥याउने हो भने परिवार नियोजनको यो सबैभन्दा प्रभावकारी तरिका हुन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप