• कोशी अवाज

गत वर्षको डिसेम्बर महिनामा विश्वमा पहिलोपल्ट कोरोना भाइरस (कोभिड–१९) चीनको हुवे प्रान्तको हुवान सहरमा देखा परेको थियो। अहिले यो संक्रमण विश्वभरि फैलिइसकेको छ । यस महामारीबाट मृत्यु हुनेको संख्या साढे चार लाख नजिक पुगेको छ भने संक्रमितहरूको संख्या ८० लाख भन्दा माथि रहेको छ । विश्वमा कोरोनाको महामारीका कारण सबै क्षेत्र प्रभावित भएका छन् । यसको सबैभन्दा ठूलो प्रभाव मानव जीवनमाथि परेको छ । यसले मानव सभ्यता सधै सङ्कटमा छ भन्ने सन्देश ससारलाई दिएको छ भने त्यसपछि अर्थतन्त्र माथि यसको ठूलो प्रभाव परेको छ, अहिले विश्वले यो सङ्क्रमण रोकथामको सबै भन्दा उपयुक्त विधि लकडाउनलाइ मानेको छ, अहिले विश्वका अधिकांश देश लकडाउनको अवस्थामा छन् भने आर्थिक गतिविधि प्रायः ठप्प भएकाले विश्वको अर्थतन्त्रमा ठूलो गिरावट आउने प्रायः निश्चित छ ।
विश्व अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव
यस महामारीका कारण विश्वका धेरै देशको अर्थ ब्यवस्था एक किसिमले ठप्प छ भने औद्योगिक उत्पादन र सेवा क्षेत्रमा ठूलो प्रभाव परेको छ । उत्पादन केन्द्रहरू प्रायः ठप्प छन् । सेवा क्षेत्रहरू, हवाइ क्षेत्र, यातायात, पर्यटन, होटेल–रेस्टुँरा आदि क्षेत्रमा यसको सबैभन्दा ठूलो प्रभाव परिरहेको छ । उत्पादन र सेवा क्षेत्र अवरुद्ध हुनाले विश्वमा करौडौं मानिसले आफ्नो रोजगारी गुमाइसकेका छन् भने सोही कारण ठूलो संख्यामा मानिसको आयमा कमी आई गरिबीको रेखामुनि धकेलिने अनुमान गरिएको छ । यस संक्रमणले उत्पादन, आपूर्ति, माग, रोजगारी, आय आदिमा प्रभाव पारेको छ । यही कारण विश्व अर्थतन्त्र गहिरो आर्थिक मन्दीतर्फ धकेलिने अनुमान गरिएको छ ।
यो महिनाको सुरुवाततिर विश्व बैंकले एउटा प्रतिवेदन सार्वजनिक गर्दै विश्वको अर्थतन्त्रमा सन २०२० मा साढे पाँच प्रतिशतले गिरावट आउने अनुमान गरेको छ । उसले यो अवस्था अनपेक्षित हुँदै गएमा विश्व अर्थतन्त्रमा विगत १५० वर्षयताकै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । महामारीकै कारण विश्वमा उच्चदरमा गरिबीको संख्या बढ्ने देखिएको छ । प्रतिबेदन सार्वजनिक गर्दै बैंकाका प्रमुख डेभिड वालपासले यही महामारीका कारण विश्वमा ६ करोड मानिस गरिबीको रेखामुनि जान सक्ने बताएका थिए अर्थात् सन २०२० मा विश्ब्यापी गरिबी दर वृद्धि भएर ८.४ प्रतिशत बाट ८.८ प्रतिशतसम्म पुग्न सक्नेछ, यो वर्ष यो दर घटेर ७.८ प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको थियो ।
विशेषगरेर उत्तरी अफ्रिका, पूर्वी एसिया, एब ल्याटिन अमेरिकाका राष्ट्रहरू गरिबीको उच्च चपेटमा रहँदै आएको छन् । यस्तो समस्याबाट जनसंख्याका हिसाबले भारत, नाइजेरिया, इन्डोनेसियाया बढी प्रभावित हुनेछन् । गरिबी बढ्नुको मुख्य कारण प्रति ब्यक्ति आम्दानिमा आएको कमी हो, महामारिका कारण रोजगारीका अवसर गुम्दै गएको र ज्यालामा गरिएको कटौतीका कारण यस्तो भयावह स्थिति उत्पन्न हुने अनुमान गरिएको छ । गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत विश्वका १७० देशको औसत प्रतिब्यक्ति आय ऋणात्मक हुने जनाएको थियो ।
महामारीकै कारण विश्वब्यापी आपूर्ति श्रृङ्खलामा पनि ठूलो प्रभाव परेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय ब्यापारको मात्रामा गिरावट आइरहेको छ । अन्तर्राष्ट्रिय व्यापार सङ्गठनका अनुसार यो वर्ष यो दर ३२ प्रतिशतसम्मले ओरालो लाग्नेछ । कोरोना महामारीकै कारण विश्वव्यापी विप्रेषण प्रवाहमा पनि यो वर्ष २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । विकसित र औद्योगिक राष्ट्रहरुमा समेत रोजगारीको अवसर गुम्दै जाँदा यस्तो अनुमान गरिएको छ । यसले राष्ट्रिय अर्थतन्त्र को ठूलो हिस्सा, विप्रेषण भएका देशहरू सबैभन्दा बढी प्रभावित हुनेछ्न ।
महामारीको कारण विश्वका सबै देशको अर्थतन्त्र प्रभावित भएको छ । अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा कोरोना महामारीको सबैभन्दा बढी प्रभाव परेको छ । अमेरिकामा अहिलेसम्म महामारीका कारण लाखौ मानिसको मृत्यु भइसकेको छ, संक्रमितहरूको संख्या २० औं लाख छ, महामारीकै कारण अमेरिकी अर्थतन्त्रमा आएको गिरावटका कारण त्यहाँको अर्थतन्त्र औपचारिकरूपमा मन्दीतर्फ प्रवेश गरेको घोषणा गरिएको छ भने अमेरिकामा पछिल्लो समय बेरोजगारी उच्च दरले वृद्धि भइरहेको छ । गत १ महिना मात्र १५ लाख अमेरिकी नागरिकले बेरोजगारी भत्ताका लागि आवेदन दिएका थिए ।
शुरूदेखि नै राष्ट्रपति ट्रम्प लकडाउनको विपक्षमा थिए, उनले अमेरिकी अर्थतन्त्रको गिरावट हुन नदिन लकडाउन गरेका थिएनन् । कतिपय अर्थ राजनीतिज्ञहरूले यसलाई उदार पुँजीवादको पक्षपोषण भनेका छन् । सन १९३० को दशकको आर्थिक मन्दीले पुँजीवादी ब्यवस्था र सन २००८–९ तिरको विश्ब्यापी वित्तीय सङ्कटले नव उदारवादी पुँजीवादी ब्यवस्था माथि एउटा प्रश्न चिह्न खडा गरेको थियो । त्यही समय फेरि नजिक आएको महसुस गरिरहेका छन् राष्ट्रपति ट्रम्प । उनी कुनै हालतमा उदार पुँजीवादी ब्यवस्थालाई कमजोर र असफल बनाएर यसको विकल्प कतै समाजवादी अर्थब्यवस्था त होइन भन्ने तर्कलाइ बलियो बनाउन चाहँदैनन् । यी दुवै सङ्कटका समयमा विश्वमा पुँजीवादी आर्थिक प्रणालीको विकल्प खोजिएको थियो । राष्ट्रपति ट्रम्पलाई यी कुरा राम्रोसँग थाहा छ । उनी विगत पुर्न नदोहोरिहोस् भन्ने चाहन्छन् । हो, यहीँनेर फेरि अर्थप्रणाली र राज्य ब्यवस्थाको गहिरो अन्तरसम्बन्ध देखियो ।
कोरोनाको भाइरसको उदगमथलो चीनको आर्थिक वृद्धिदर सन २०२० मा ६.१ प्रतिशत बाट घटेर ५.६ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ । यो वर्ष उसले स्वास्थ्य, पूर्वाधार निर्माण तथा कोरोना नियन्त्रण गर्न ठूलो पुँजी खर्चेको थियो । फलस्वरूप चीन संक्रमणलाइ बेलैमा नियन्त्रण गर्न सफल भयो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, सन २०३० सम्ममा चिनियाँ अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने अनुमान गरिएको छ । यस्तोमा चीनमा कोरोना संक्रमण भयावह हुँदा विश्व अर्थ राजनीतिको केन्द्र बदलाभ अझ पर धकेलिने अनुमान गरिएको थियो । अहिले चीनको अवस्था सामान्य भइसकेको छ ।
चीनमा महामारी नियन्त्रण उन्मुख भइरहँदा पश्चिमी युरोपमा स्थिति भयावह हुन शुरू भइसकेको थियो । अहिले युरोपमा कोरोना महामारीकै कारण लाखौ मानिसको मृत्यु भइसकेको छ भने युरोपियन अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको छ । अघिल्लो महिना युरोपियन युनियनले एउटा प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष त्यस क्षेत्रको अर्थतन्त्रमा ७.५ प्रतिशतले गिरावट आउने अनुमान गरेको छ । यस्तो दर इटालीमा अझ बढी ९.५ र ग्रीसमा ९.७ प्रतिशतसम्म रहनेछ । इयु जोनमा इटाली महामारीका कारण शुरूमा सबैभन्दा बढी प्रभावित देश हो । महामारीले उसको राष्ट्रिय स्वास्थ्य प्रणाली नराम्रोसँग बिग्रेको छ भने ग्रीसको अर्थतन्त्र सन २०१२ मा ठूलो आर्थिक मन्दीमा फँसेको थियो ।
अधिकांश इयु जोनका राष्ट्रहरूले लामो समय लकडाउनको घोषणा गरेका थिए । यही कारण त्यहाँको औद्योगिक उत्पादन तथा सेवा क्षेत्र नराम्ररी प्रभावित भयो । यसले त्यहाँ बेरोजगार मानिसहरूको संख्यामा व्यापकमात्रामा वृद्धि गरिदियो । युरोपियन युनियन क्षेत्रमा गत एक महिनामा चार लाख मानिसले रोजगारी गुमाएका थिए । सेवा क्षेत्रअन्तर्गत पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो तर पछिल्लो समय फ्रान्स, जर्मनी बेलायत आदिले आन्तरिक पर्यटनलाई खुकुलो बनाएका छन् । इयु जोनको कुल ग्राहस्थ्य उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत बराबर रहेको छ ।
कोरोना महामारीको भयावह रूप अहिले भारतमा देखिन थालेको छ । यद्यपी भारतले लकडाउनलाइ खुकुलो बनाउँदै गएको छ, महामारीकै कारण भारतीय अर्थतन्त्रमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । भारतको यो बर्सको आर्थिक वृदिदर ३.१ प्रतिशतमा सीमित हुने अनुमान त्यहाँको केन्द्रीय तथ्याङ्क मन्त्रालयले यो महिनाको सुरुवातमा गरेको थियो । यद्यपि त्यहाँको अवस्था अझ भयानक हुँदै गइरहेको छ । पछिल्ला महिनाहरूमा भारतमा बेरोजगारी दर बढिरहेको छ, गत महिना मात्र रोजगार गुमाउने र पारिश्रमिक कटौती हुने मानिसको संख्या १४ करोड रहेको बताइएको छ, यस्तोमा दैनिक ज्यालादारी र असङ्गठित क्षेत्रमा कार्यरत मानिसको संख्या सबैभन्दा बढी छ ।
कोरोना महामारीकै कारण भारतमा विश्वको सबैभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि जान सक्ने अनुमान गरिएको छ । यो संख्या यो वर्ष मात्र १ करोड बराबर हुन सक्नेछ । भारतको ग्रामीण क्षेत्रहरू गरिबीको ठूलो चपेटामा रहेका छन् । यी तमाम सम्भावनालाई मध्यनजर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारु बराबरको राहत प्याकेज घोषणा गरेका छन् ।
नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव
पछिल्लो समय विश्वब्यापी कोरोना महामारीको प्रभाव नेपालमा पर्दै गएको छ । संक्रमितहरूको संख्या दिनहुँ वृद्धि भइरहेको छ भने मृतकहरूको संख्या पनि बढिरहेको छ, यो महामारिका कारण हाम्रो सामाजिक,राजनीतिक, साँस्कृतिक क्षेत्रका साथसाथै अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव पर्ने देखिएको छ ।
नेपालमा अहिले लकडाउनको खुकुलो बन्दै गएको छ तर अघिल्ला महिनाहरूमा भएको कडा लकडाउनका कारण देशको उद्योगधन्दा कलकारखाना, व्यापार–व्यवसाय एवं सेवा क्षेत्र प्रायः ठप्प भएका थिए, छन् । कोरोना महामारीकै कारण आ.व. २०७५–७६ को अधिकांश आर्थिक सूचक एवं परिसूचक प्रभावित भएका छन् । यो आ.व.मा नेपालको आर्थिक वृदिदर २.३ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ । यो भन्दा अघिल्ला ३ वर्षहरूमा नेपालको औसत आर्थिक वृदिदर ७ प्रतिशतको हाराहारीमा थियो । लकडाउनका कारण उत्पादन क्षेत्रमा प्रभाव परेको छ, साना मझौला र ठूला उद्योग प्रायः ठप्प छन् । यसले धेरै रोजगारीका अवसरहरू गुमेका छन् विशेष गरेर दैनिक ज्यालादारीमा काम गर्ने र असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक मारमा परेका छन् ।
अर्कोतर्फ नेपालका श्रम गन्तव्य मुलुकहरूमा समेत रोजगारीका अवसर कम हुँदै जाँदा त्यसको प्रत्यक्ष मारमा नेपाली कामदार परेका छन् । यो वर्ष मात्र १० देखि १५ लाख नपाली युवा स्वदेश फर्कने अनुमान गरिएको छ, भारतबाट पनि नेपाल फर्कने नेपालीको संख्या १० लाखको हारहारीमा हुनेछ । यसको मतलब नेपाललाई थप रोजगारीको अवसर सिर्जनाको चुनौती हुनेछ आगामी वर्षहरूमा । अर्कोतर्फ यही कारण यहाँको विप्रेषण आप्रवाहमा गिरावट आउनेछ । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा विप्रेषणको योगदान एकतिहाइ बराबर छ । यसले राष्ट्रिय आयमा प्रभाव पर्नुका साथै निम्न आर्थिक स्तर भएका नेपालीहरूको प्रत्यक्ष आयमा पनि कमि आउनेछ । अर्कोतर्फ कोरोना महामारीकै कारण नेपालको वैदेशिक ब्यापारमा (आयात निर्यातमा) गिरावट आएको छ । यसले हामीले ब्यहोरिरहेको ब्यपार घाटामा केही सुधार हुनेछ तर सरकारको राजस्व लक्ष्य प्रभावित हुनेछ ।
यही महामारीको कारण विकास निर्माणका कार्य प्रभावित भएका छन् । आ.व. ७५–०७६ को पुँजीगत बजेटतर्फको खर्चको गति अत्यन्त कम छ । वर्षको अन्त्यतिर भएको लकडाउनका कारण कच्चा पदार्थको आपूर्ति र मानव संशाधनको ब्यवस्थापनमा समस्या भएका कारण पूर्वाधार निर्माणका योजनाहरूको गति अपेक्षित हुन सकेको छैन । आ.व.को अन्त्य हुन लाग्दा समेत पुँजीगत खर्च ५५ प्रतिशतको हाराहारिमा मात्र पुगेको छ । यसले देशको आगामी वर्षहरूमा हुने आर्थिक वृदिदरमा नकारात्मक प्रभाव पार्नेछ ।
अर्कोतिर महामारीका कारण नेपालको सेवा क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित बन्यो । लकडाउनका कारण पर्यटन, होटल, रेष्टुरेन्ट यातायात, हवाइ क्षेत्र आदि ठप्प छन् । नेपाल सरकारले यो वर्षलाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको थियो भने २० लाख पर्यटक देशमा भित्रयाउने लक्ष्य लिएको थियो । तर वर्षको सुरुवातमा नै विश्वभर कोरोना महामारी फैलिएको कारण आन्तरिक एवं बाह्य पर्यटन ठप्प रहेको छ । यही कारण पर्यटन लक्षित अन्य सेवा क्षेत्रहरू प्रभावित भएका छन् भने यस क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा संलग्न १५ लाख मानिसले रोजगारी गुमाएका छन् । त्यस्तै, नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ३ प्रतिशत योगदान पुरयाउने पर्यटन क्षेत्रले एक अहिलेसम्म खर्ब रुपैयाँ गुमाइसकेको जनाइएको छ ।
अतः कोरोना संक्रमणका कारण अर्थतन्त्रमा बहुआयामिक प्रभाव परेको छ । यसले निम्त्याउने बाइप्रोडक्ट अत कोरोना संक्रमणका कारण अर्थतन्त्रमा बहुआयामिक प्रभाव परेको छ । यसले निम्त्याउने बाइप्रोडक्ट समस्याहरू अझ भयावह हुनेछन् । यही महामारीका कारण विश्व अर्थतन्त्र गहिरो मन्दीतर्फ धकेलिँदै छ, यो मन्दी सन १९३०र २००८ को विश्वब्यापी मन्दी भन्दा भयबह हुन सक्नेछ । यस्तो महामारीको प्रभाव हाम्रो जस्तो विकासित मुलुकमा अझ बढी पर्नेछ, विश्व बैंकका प्रमुख डेबिड वालपासले भने जस्तै अब विस्तारै माहामारीको भयावह रूप विकसित राष्ट्रको अर्थतन्त्रमा र कमजोर देशका घरघरमा देखिन थाल्नेछ । यद्यपी कोरोना भाइरसको प्रभाव अर्थतन्त्र माथि कति धेरै वा कहिलेसम्म रहिरहन्छ भन्ने कुरा विश्वमा कोरोना भाइरसको नियन्त्रण कति छिटो वा ढिलो हुनेछ भन्ने कुराले निर्धारण गर्नेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप