राष्ट्रवादी कामरेडहरू ! अब यो गीत खोजौं


  • हाम्रो कोशी आवाज

हिजोआज खासगरी (विगत १०–१२ वर्षदेखि) विश्वभरि नै राष्ट्रवादको भूत जिउँदो जाग्दो रूपमा प्रकट हँुदै आएको देखिन्छ । हाम्रो देश नेपाल त झन् राष्ट्रवादको मामलामा विश्वका अन्य कुनैपनि देशहरूको तुलनामा (औसतमा) धेरै राष्ट्रवादीहरु भएको देश हो । त्यस्तै, अन्य देशको तुलनामा हाम्रो देश नेपालमा बुद्धिजीवीहरू पनि धेरै नै रहेका छन् । त्यसैले हाम्रो देश नेपाल पनि राष्ट्रवादको नारा उर्लदो क्रममा उठेको देखिन्छ । यसरी हेर्दा राष्ट्रवादको नारा उर्लदो क्रममा रहेको मात्रै होइन कि, यो नारा जिउँदोजाग्दो भएर पैmलने क्रममा रहेको छ ।
तर, जतिसुकै राष्ट्रवादको नारा उछाले तापनि विगत केही दशकमा विश्वको राजनीतिमा धेरै देशको मानचित्र यताउता भएको छ । केही देश फुटेर (टुक्रिएर) अलगअलग पनि भएका छन् । यसरी विश्वको भूगोलको वास्तविकता रेखाङ्कन भने फरक (अर्कै) हुँदै जाँदैछ । त्यसैले त धेरै देशका राजनीतिक दल र ती देशका केही नेताहरु राष्ट्रवादको त्यही हाँगो समातेर र नारा उछालेर सत्तामा पुगेका छन् । केही नेताहरूले आपूm सत्तामा पुग्ने भरयाङ (नारा अथवा प्रतिबद्धता) गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेभन्दा नारा वा घोषणपत्रलाई आफ्नो प्रमुख एजेन्डा वा नारा बनाउन छाडेर राष्ट्रवादको नारालाई अचूक अस्त्रको रुपमा प्रयोग गरी रहेका छन्, गर्न थालेका छन् ।
यो क्रम विश्वका केही देशका नेताहरूले गत केही दशकदेखि पुनः प्रयोगमा ल्याइरहेका छन् मात्रै होइन कि, अरू बढी मुखर भएर आएको देखिन्छ । जस्तैः बेलायतले युरोपियन युनियनबाट छुट्टिने निर्णय गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूm अमेरिकाको राष्ट्रपति भएर आउनेवित्तिकै ‘मेक ग्रेट अमेरिका’ र ‘अमेरिका फस्र्ट ’ भन्ने नारा लगाउनु, छिमेकी देश मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउने नारा उछाल्नु आदिलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
हुन पनि इतिहास हेर्ने र पढ्ने हो भने, दोस्रो विश्वयुद्धको जग पनि राष्ट्रवादकै जगमा उभिएर भएको थियो भन्न सकिन्छ । किनभने, विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने, जर्मन फयुहेर हिटलरले राष्ट्रवादको नारा उछालेरै दोस्रो विश्व युद्ध शुरू गरेका थिए । आज फेरि विश्वभरि नै राष्ट्रवाद मुर्झाउँदो क्रममा छ । त्यसमाथि हामी नेपालीहरू त राष्ट्रवादको मामलामा झन् के कम । विश्वकै नम्बर १ राष्ट्रवादी भइहाल्यौं । त्यसैले हाम्रो देश नेपालमा एक से एक राष्ट्रवादी कमरेडहरुको कमी छैन । भलै उनीहरूमध्ये अधिकांशको भाइ–भतिजो, साला–साली, भदा–भदैनी, दिदी–बहिनी, दाइ–जेठान, छोरा–छोरी, नाति–नातिना, पनाति–पनातिना विदेशमा खासगरी भारतमा त्यहाँको सरकारले निःशुल्क उपलब्ध गराइदिने छात्रवृद्धिमा पढ्न र जागिर गर्न गएका होलान् ? अझ अमेरिकामा डिभी भरेका होलान् ? अहिले हामी त्यतातिर खोतल्नेतर्पm नलागौं ।
जेहोस्, नेपालमा अहिले मात्रै होइन, धेरै अघिदेखि घरिघरि राष्ट्रवादको नारा उठ्ने गरेको छ । तर, हाम्रो देशको राष्ट्रवाद अहिलेसम्म टुङ्गोमा नपुग्दै पानीको फोकाजस्तै उठ्ने र फुट्ने (हराउने) गरेको देखिन्छ वा भनौं टुङ्गोमा नपुगी बेवारिसे बनेको देखिन्छ । सम्भवतः विश्वजगत रहेसम्म एक देशले अर्को देशको सीमा मिच्ने, विवादित सीमा क्षेत्रको भूमि आफ्नो भनी एकअर्का देशले दावी गर्ने, एक देशले अर्को देशलाई हेप्ने क्रम चलि नै रहन्छ र, त्यसकाविरुद्ध आन्दोलन गर्ने र आफ्नो गुमेको भूमि फिर्ता गर्नका लागि विभिन्न माध्यमहरूबाट पहल गर्ने क्रम पनि चलि नै रहन्छ । तर, अधिकांश देशमा के देखिन्छ भने आफ्नो देशको सीमा मिचिँदा वा सीमा क्षेत्रको विवादित भूमि आफ्नो हो भन्नका लागि त्यहाँका सरकार वा सरकार प्रमुखहरू नै अघि सर्छन् । तर, हाम्रो देश नेपालमा नि… हाम्रो देश नेपालमा यो मामिलामा अलि फरक परिदृश्य देखिने गरेको छ । खासगरी नेपालका जतिसुकै राष्ट्रवादी भनिएको कुनै पनि राजनैतिक दल होस् वा ती राजनैतिक दलमा रहेका राष्ट्रवादी भनी चिनिने नेताहरू नै किन नहोस्, उनीहरूले नेपालको राष्ट्रवादलाई सत्तामा पुग्ने सबैभन्दा सजिलो भरयाङको रुपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । जुन कुरोलाई पटक्कै राम्रो भन्न, मान्न सकिन्नँ ।
तर, यसपटक हाम्रो देशमा अचम्मै भएको छ । वास्तवमा भन्नुपर्दा अचम्म भन्दा पनि धेरै राम्रो र सही काम भएको छ । त्यो हो (नेपालको पश्चिमी सरहद (नेपाल–भारत–चीनको सीमा क्षेत्र) मा रहेको कालापानी–लिपुलेकको केही विवादित (स्मरणीय छ, नेपाल भारत सीमा क्षेत्रको सुस्ता र कालापानी विवादित भूमि भनी दुवै देशले स्वीकार गरेको) भूमि नेपाल सरकारले आप्mनो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको र छापेको छ । त्यसैले यो कामका लागि वर्तमान नेपाल सरकारका प्रखुम सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू विशेष धन्यवादका पात्र हुनुहुन्छ ।
हुन त नेपालका अधिकांश बुद्धिजीवी, विश्लेषक, सीमाविद, सीमाविज्ञ, विषयविज्ञ आदि भनिने र भनाइनेहरूले भनेभैंm नेपाल सरकारले आफ्नो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेकै, छापेकै भरमा भारतले ‘हिजोदेखि आजसम्म मैले तिम्रो भूमि अतिक्रमण गरेको थिएँ, थिए छु । तर, आज तिमीले मेरो भूमि भनी दावी गरेर तिम्रो देशको नक्सामा समेटेर छापेछौं । त्यसैले अबदेखि यो भूमि तिम्रो भयो, त्यसैले अब फिर्ता लैजाऊ’ भनेर सजिलोसँग फिर्ता दिँदैन । तर, आज हामीले नक्सासहित दावी गरेपछि तथ्य–प्रमाणसहितको एउटा आधार त खडा भयो, भएको छ । जो अहिलेको हाम्रो पुस्ता (हामी छौं) ले सो भूमि तत्कालै फिर्ता गर्न नसकेता पनि पछि आउने हाम्रा भावी पुस्ताले तथ्य–प्रमाण र इतिहासको आधारमा दावी गर्ने छन् ।
त्यसैले यहाँ हामी नेपालीहरूले खासगरी नेपालका अति राष्ट्रवादी कामरेडहरूले अर्को एउटा महत्वपूर्ण काम गर्नु परयो भनी यो पंक्तिकारको विशेष आग्रह छ । त्यो के भने, उहिल्यै राष्ट्रकवि माधव घिमिरे (वि.सं २०६१–०६२ मा राष्ट्रकवि घोषित भएका) ले ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीत लेख्नुभएको छ । सो गीतको पुरै पंक्ति तल उल्लेख गरिएको छ ।
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल ।

गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली
लेक र बेंसी बिम्झाउँछन् लहर लाखौं उचाली
हिमाल चुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।

सीताले सारा भिजाइन् दक्षिण लङ्का भारत
भृकुटी तारा उदाइन् उत्तर चीन, तिब्बत
हामीले हिमाल उठायौं एसियाको मझमा
सभ्यता बास बसेथ्यो आएर यही साँझमा ।

यै नेपाली धूलामा दिलको फूल रोपेर
यै पहाडी शिलामा प्रीतिको गीत खोपेर
बाँचौंला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा ली
नाचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।

माथिको राष्ट्रिय गीतबारे थाहा नहुने नयाँ पुस्ताका धेरै नेपालीहरूलाई सो राष्ट्रिय गीतको पूरा पंक्ति त्यत्ति नै होला भन्ने लाग्न सक्छ । तर, त्यस्तो होइन । सो गीतमा अन्तिमका अरू चार हरफका एक महत्वपूर्ण पंक्ति छुटेको वा जानाजान छुटाइएको छ । छुटेको वा जानाजान छुटाइए सो पंक्ति पनि तल प्रस्तुत गरिएको छ ।
पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।
गीतको सन्दर्भ स्रोतः फणीन्द्र नेपालद्वारा लिखित ‘नेपाल टिस्टा टु सतलज’ नामक किताबको पाना नम्बरः २१९–२२०
माथिको राष्ट्रिय गीतको सन्दर्भमा भन्नु पर्दा पछिल्लो पङ्क्ति किन हटाइयो ? कसले हटायो ? भन्नेतर्पm म अरु धेरै संकेत गर्दिनँ । तर, महत्वपूर्ण कुरा के छ भने अहिलेसम्म पनि सो गीतका रचयिता तथा राष्ट्रकवि माधव घिमिरे ज्यू तपाईँ हामीमाझ जीवित हुनुहुन्छ । त्यसैले राष्ट्रवादी कमरेडहरूले उहाँ जीवित हुँदै उहाँलाई भेटेर उहाँद्वारा लिखित, राष्ट्रिय गीतको हटाइएको पछिल्लो पंक्तिका बारेमा सोधखोज गरेर वास्तविकता के हो ? पत्ता लगउन सकिन्छ । किनभने, जस्तै कुपुत्र–पुत्री भएपनि आपूmले जन्म दिएको आप्mनो सन्तानको माया र ममता आमालाई हन्छ, त्यसरी नै राष्ट्रकवि माधव घिमिरे ज्यूलाई पनि आप्mनो ‘जय, जय, जय हे नेपाल’ नामक गीतको
पश्चिम किला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।’
भन्ने पछिल्लो पंक्ति हटाउँदा उहाँमा केही न केही त महसुस त अवश्य नै भयो होला । त्यसैले उहाँले पछिल्लो पंक्ति हटाउनुपर्ने बाध्यता वा विवशताको कारण के थियो ? अब त अवश्य नै बताउन सक्नु होला । कि विसं २०३३ मा साझा प्रकाशनले निकालेको उहाँको गीत संग्रहको ‘किन्नर किन्नरी’ संग्रहमा मात्रै सो पंक्ति छुटेको हो ?
अन्तमा लेखकको के आग्रह छ भने, राष्ट्रकवि माधव घिमिरे ज्युको सो ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रिय गीतको पूरै पंक्ति (हटाइएको पछिल्लो पंक्ति समेत खिचेर) को नयाँ श्रब्य–दृश्य बनाउनेतर्पm (छायाँङ्कन गर्नेतर्पm) पनि राष्ट्रवादी कामरेडहरुले पहल लिई हाल्नुहोस् । किनभने, नेपाली भाषामा रहेको उखान ‘मान्छे चिन्ने र खसी किन्ने’ असली समय भनेको पनि यही वेला हो । कि होइन हौं, राष्ट्रवादी कामरेडहरु ? अझ यो कामको पहल सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युले नै लिनु भएमा ‘सुनमा सुगन्धु नै हुन्थ्यो । त्यसैले माथि उल्लेखित राष्ट्रिय गीतको हराएको वा हटाइएको पंक्ति पनि थपेर तुरुन्तै नयाँ श्रब्य–दृश्य बनाउन (तयार पार्न) का लागि सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युले सरकारको मातहतमा रहेकालाई कामको जिम्मा लगाइहाल्नुपर्ने देखिन्छ ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप